Ad Area

क्यारेमबोर्ड र लुँडो खेल्न प्रतिबन्ध


झापा,९, असार । शहर बजारमा होहल्ला गर्दै क्यारेमबोर्ड र लुँडो खेल्ने क्रम बढेको भन्दै झापाको दमक नगरपालिकाले यी खेललाई प्रतिबन्ध गरेको छ ।

जुवाजन्य रुपमा हारजीतसहित क्यारेमबोर्ड र लुँडो खेल्ने प्रवृत्ति मौलाउदै गएकाले यसलाई प्रतिबन्ध गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताएका छन् ।

नगरपालिकाले गरेको सर्वपक्षिय छलफलमा यो बिषय उठेको र विकृति नियन्त्रणका लागि यस्तो निर्णय लिनुपरेको पनि नगर प्रमुख थापाले बताए । क्यारेमबोर्ड र लुँडो जुवाजन्य खेल नभएको भएता पनि ठुलोठुलो धनराशीको बाजी खेल्ने गरेको पाइएको पनि छलफलमा कुरा उठेको बताइएको छ ।

बाह्रमासे हिसाबले पसल तथा गल्लीगल्लीमा छरछिमेक र बालबालिकामा समेत असर गर्नेगरी यस प्रकारका खेल खेल्ने र खेलाउने कार्य नरोकिए कार्वाही गरिने समेत बताएका छन् । ‘सार्वजनिक सूचना जारी गरिएको र अटेर गरेको पाइएमा कार्वाही गछौँ’, नगर प्रमुख थापाले भने । । क्यारेमबोर्ड र लुँडो प्रतिबन्ध गरिएकोप्रति कतिपयले विरोध पनि जनाएका छन् ।

निर्णय कार्यान्वयनका लागि नगर प्रहरी परिचालन गरिएको बताइएको छ । स्थानीय प्रशासन र प्रहरीसमेत सर्वपक्षीय छलफलमा बसेर निर्णय भएकाले कार्यान्वयन गर्न सबै लाग्ने प्रतिबद्धता जनाएको नगरपालिकाले जनाएको छ ।