दाङमा १० किलोमीटर खुल्ला रोड रेस प्रतियोगिता हुने

घोराही, ९ असार । दाङमा १० किलोमीटर रोड रेस प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा यही असार १४ गते बिहान ७ बजे घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा ‘लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष-महिला १० किलोमीटर रोड रेस प्रतियोगिता’ हुने भएको हो ।
प्रतियोगितामा भाग लिन असार १३ गतेसम्म नाम दर्ता गर्न पनि आयोजकले सूचनामार्फत जानकारी गराएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य कैलाश रोकाले जानकारी दिनुभयो । नाम दर्ता गर्न खेलाडीको पहिचान खुल्ने कुनै पनि सरकारी कागजात अनिवार्य गरिएको उहाँले बताउनुभयो ।
खेलकुदको विकाससँगै खेलाडी पहिचान गर्दै प्रदेशमा दक्ष खेलाडी उत्पादन गर्न यस प्रकारको प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले बताउनुभयो ।
गत वर्ष राप्ती उपत्यका देउखुरीमा यस प्रकारको प्रतियोगिता आयोजना गरिएको थियो । उहाँका अनुसार, लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष तथा महिला १० किलोमीटर रोड रेस प्रतियोगितामा प्रथम हुने पुरुष महिला दुवैलाई जनही ५०–५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।
यसैगरी, दोस्रो हुनेले जनही ३०–३० हजार, तेस्रो हुनेले जनही २०–२० हजार, चौथो हुनेले जनही १५–१५ हजार र पाँचौँ हुनेले जनही १०–१० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव गौतमले बताउनुभयो ।
प्रतियोगितामा सहभागी भएका पुरुष महिला खेलाडी मध्ये छैठाैँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुनेलाई पनि समान ५–५ हजार रुपैयाँ हौसला स्वरुप प्रदान गरिने उहाँले बताउनुभयो ।