Ad Area

कृषि सामग्री सहज उपलब्ध गराउन माग


घोराही, ९ असार । नागरिक समाज दाङले रासायनिक मल, उन्नत बिऊबिजन, कृषि औजार, किटनाषक विषादीलगायत कृषि सामग्री सहज रुपमा उपलब्ध हुने वातावरण बनाईदिन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

समाजका पूर्व संयोजक केबी मसाल, चन्द्रराजपन्तलगायत कार्यसमितिले सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर किसानलाई आवश्यक पर्ने मल, बीउ, सामग्री सहज रुपमा उपलब्ध हुने वातावरण बनाई दिन ध्यानाकर्षण गराएको हो ।नेपाल सरकारले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानका लागि अनुदान सहयोगमा उपलब्ध गराउने रासायनिक मल कृषकको माग अनुसारको परिमाणमा उपलब्ध हुन नसकेको गुनासो आईरहेकाले यसको उचित व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लामा गतवर्ष भन्दा मल वितरण बढ्दो क्रममा रहेपनि किसानलाई अझैं नपुगेको गुनासो आईरहेको विषयमा सरोकार निकायसँग जानकारी लिने काम गरेको बताएका थिए । मल वितरणसँगै अनुगमन पक्ष बलियो बनाउन सके मात्रै पनि जिल्लामा रासायनिक मलको अभाव कम हुने प्रमुख जिल्ला अधिकारी लम्सालले बताएका थिए ।