Ad Area

प्रजातान्त्रिक उद्यमी संघको अध्यक्षमा पुनः खत्री


दाङ,१० असार । प्रजातान्त्रिक उद्यमी संघ दाङको अध्यक्षमा पुनः कालीबहादुर खत्री (मानु) सर्वसम्मत चयन भएका छन्। गत शनिबार स्थगीत भएको संघको पाँचौँ साधारणसभा तथा अधिवेशन मंगलबार सम्पन्न भई नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।

नयाँ कार्यसमितिमा उद्योग उपाध्यक्षमा श्रीधर धिताल, वाणिज्य उपाध्यक्षमा ऋषिराज पोख्रेल, महासचिवमा नरेश कार्की, सचिवमा हिमाल महरा, कोषाध्यक्षमा कैलाश गिरि चयन भएका छन्। संघको सदस्यहरूमा सुवास न्यौपाने, सुमन शर्मा, दिपक पाण्डे, लोकबहादुर वली, सुनिल चौधरी, हुर्मत चौधरी, विनोद डाँगी, नुरुद्दीन नाहु र महिला सदस्यमा पुजा नेपाली चयन भएका छन् ।

संगठन विभाग प्रमुखमा प्रकाश घिमिरे, आर्थिक विभागमा हेमराज पुन, सूचना, सञ्चार तथा प्रचार विभागमा चिरञ्जीवी कवर र प्रशिक्षण विभागमा तेजबहादुर बिकलाई चयन गरिएको छ । शनिबार संघको अधिवेशनको बन्द सत्रमा आर्थिक प्रतिवेदनमाथि विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित गरिएको थियो। यसअघि अधिवेशनको तयारीका क्रममा पनि संघको बैठकले श्याम सुवेदीलाई निर्वाचन समिति संयोजक तोकेको निर्णयलाई लिएर विवाद चर्किएको थियो।

उक्त निर्णयविरुद्ध नेपाली कांग्रेस दाङको जिल्ला पार्टी कार्यालयमा निवेदनसमेत परेको थियो। विवाद समाधानका लागि जेठ २९ गते नेपाली कांग्रेसका जिल्ला प्रतिनिधि एवं कोषाध्यक्ष प्रकाश सुवेदी, क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्का, प्रदेशसभा २ (क) का सचिव शिशिर अधिकारी, घोराही नगर सभापति तिलक रावत तथा संघका सल्लाहकारहरू भूपबहादुर डाँगी, खड्गबहादुर बुढाथोकी, दीपक सुवेदी, वसन्त जोशी, श्याम सुवेदी र संस्थापक सल्लाहकार पुरुषोत्तम शर्माको उपस्थितिमा बैठक बसेको थियो।

उक्त बैठकले श्याम सुवेदीलाई संयोजक पदबाट हटाई अध्यक्ष कालीबहादुर खत्री (मानु) लाई निर्वाचन समिति संयोजक तोकेको थियो। अधिवेशनमा निर्वाचन समिति संयोजक खत्रीको अध्यक्षता, नेपाली कांग्रेस दाङका उपसभापति कमान सिंह भारतीको प्रमुख आतिथ्य, महासमिति सदस्य भूपबहादुर डाँगीको विशिष्ट आतिथ्य रहेको थियो।

साथै महाधिवेशन प्रतिनिधि बमबहादुर डिसी, क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नं. २ (क) का उपसभापति लक्ष्मण बुढाथोकी, जिल्ला सदस्य वीरबहादुर खत्री (बिरु), घोराही नगर सभापति तिलक रावत, सल्लाहकार तथा उद्योग वाणिज्य संघ दाङका अध्यक्ष वसन्त जोशीलगायत प्रजातान्त्रिक धारणा बोकेका व्यापारीको उपस्थिति रहेको थियो।