Ad Area

खुत्रुके वचत अभियानबाट बालबालिकाकाे शिक्षामा लगानी गर्दै समाज कल्याण केन्द्र


घाेराही, ११ असार । समाज कल्याण केन्द्र नेपालले खुत्रुके वचत अभियानमार्फत पढाउँदै आएकाे आफ्ना विद्यार्थीसँग भेटघाट गरि शैक्षिकसत्र २०८२ का लागि थप शैक्षिक सामग्री सहयोग गरेको छ ।

केन्द्रकी अध्यक्ष निर्मला गाैतमकाे अगुवाइमा बुधबार विपन्न, असहाय तथा जेहेन्दार बालबालिकाको शिक्षाका लागि खुत्रुके वचत अभियानअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग भेटघाट गरेर थप सहयोग प्रदान गरिएकाे हाे ।

केन्द्रकाे पहलमा अभियान अन्तरगत श्री मावि रझेनामा अध्ययनरत ३ जना, आधारभूत विद्यालय बेलघारीमा अध्ययनरत २ जना, मावि झिङ्गनीमा अध्ययनरत ३ जना र गोरक्ष मावि चौघेरामा अध्ययनरत ३ जना गरि ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयाेग गरिएको हाे ।


खुत्रुके वचत अभियानका संयाेजक तथा समाज कल्याण केन्द्र नेपालकी सदस्य शारदा घर्तीका अनुसार, सहयाेग पाउने ११ जना मध्ये ३ जना नयाँ विद्यार्थीकाे शिक्षाका लागि अभिभावकत्व लिने काम पनि भएको छ ।

जस अनुसार, आधारभूत विद्यालय बेलघारीमा कक्षा ६ मा अध्ययनरत छात्रा, मावि रझेनामा कक्षा १० मा अध्ययनरत छात्र र मावि चाैघेरामा कक्षा ६ मा अध्ययनरत छात्राकाे समाज कल्याण केन्द्र नेपालले अभिभावकत्व ग्रहण गरेकाे छ ।

यसअघि पनि घाेराही १६ सानी अम्बापुरमा कक्षा ३ मा अध्ययनरत झरना मल्ल र कक्षा ४ मा अध्ययरत समीर नेपालीकाे पठनपाठनकाे अभिभावकत्व लिँदै कापी कलम, झोला, ड्रेस प्रदान गरिएको थियाे । छनाेटमा परेका सबै विद्यार्थीहरुलाई कक्षा १२ सम्म निशुल्क अध्ययन गराउने गरी समाज कल्याण केन्द्रले अभिभावकत्व लिएको जनाएको छ ।

संस्थाले हालसम्म २० बढी असहाय, विपन्न, जेहेन्दार तथा अभिभावक विहीन विद्यार्थीहरुकाे अभिभावकत्व लिईसकेकाे छ ।

कोही पनि शिक्षाकाे उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर खुत्रुके अभियानमार्फत बालबालिकाको शिक्षामा लगानी गर्दै आएको समाज कल्याण केन्द्रकी सदस्य पूजा याेगीले बताउनुभयो ।

विपन्न, असहाय तथा जेहेन्दार बालबालिकाको शिक्षाका लागि खुत्रुके वचत अभियानमा सहभागी भई सामाजिक काममा जाेडिन समाज कल्याण केन्द्रले सबैलाई अपिल गरेको छ ।