Ad Area

१० किमि खुल्ला रोड रेस प्रतियोगितामा आर्मीका श्रेष्ठ र सार्की प्रथम


छवि पुरी
घोराही, १४ असार ।
दाङको घोराहीमा पहिलो पटक आयाेजित १० किलोमीटर खुल्ला रोड रेस प्रतियोगितामा पुरुष-महिला दुवैतर्फ विभागीय टाेली त्रिभुवन आर्मी क्लबका खेलाडी प्रथम भएका छन् ।


प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा आज शनिबार बिहान घोराहीमा भएको ‘लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष-महिला १० किलोमीटर रोड रेस प्रतियोगिता’ अन्तरगत पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र महिलातर्फ आर्मीकै निशा सार्की प्रथम हुनुभयाे । श्रेष्ठले उक्त दुरी ३१ मिनेट ३० सेकेन्डमा र सार्कीले ३७ मिनेट ४० सेकेन्डमा पार गर्नुभयो । यस्तै, पुरुषतर्फ आर्मीकै नरेन्द्र रावतले ३१ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै दाेस्राे, नेपाल प्रहरीका नागेश्वर अहिरले ३१ मिनेट ४५ सेकेन्डमा दुरी पार गर्दै तेस्रो, आर्मीका विनाेद राेकायाले ३१ मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै चाैथाे र एपीएफका रुपेश कार्कीले ३१ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै पाँचौं हुनुभयाे ।
यस्तै, आर्मीका सुशील कुमार शाही छैठौं, आर्मीकै करण रावल साताैँ, कपिलवस्तुका अजय पाँडे क्षेत्री आठौं, सल्यानका बबिन याेगी नवाैँ र राेल्पाका झरमान पुनले दशाैँ स्थान हासिल गर्नुभयाे ।

प्रतियोगितामा महिलातर्फ एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै दाेस्राे, एपीएफकै दिपा परियारले ३९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै तेस्रो, नेपाल प्रहरीकी सुमित्रा कुमारी चाैधरीले ४० मिनेट १७ सेकेन्डमा दुरी पार गर्दै चाैथाे, आर्मीकी पुष्पा कठायतले ४३ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै पाँचौं हुनुभयाे ।
यसैगरी, बाँकेकी दीपशिखा शाही छैठौं, बाँकेकै स्वस्तिका शाही साताैँ, दाङकी निरमाया चाैधरी आठौं, दाङकै उर्मिला घर्ती मगर नवाैँ, रुकुम पश्चिमकी कमला वली दशाैँ हुनु भएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले बताउनुभयो ।
उहाँका अनुसार, लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष तथा महिला १० किलोमीटर रोड रेस प्रतियोगितामा प्रथम हुने पुरुष महिला दुवैलाई जनही ५०–५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएकाे छ । यसैगरी, दोस्रो हुनेले जनही ३०–३० हजार, तेस्रो हुनेले जनही २०–२० हजार, चौथो हुनेले जनही १५–१५ हजार र पाँचौँ हुनेले जनही १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव गौतमले बताउनुभयो

प्रतियोगितामा सहभागी भएका पुरुष महिला खेलाडी मध्ये छैठाैँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुनेलाई पनि समान ५–५ हजार रुपैयाँ हौसला स्वरुप प्रदान गरिएकाे उहाँले बताउनुभयो ।
‘लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष-महिला १० किलोमीटर रोड रेस प्रतियोगिता’ घोराहीको विद्युत कार्यालयदेखि वडा नम्बर ६ को फचकपुरसम्मको रुट तय गरिएको थियाे।

खेलकुदको विकाससँगै खेलाडी पहिचान गर्दै प्रदेशमा दक्ष खेलाडी उत्पादन गर्न यस प्रकारको प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव गौतमले बताउनुभयो । प्रतियोगितामा विभागीय टिमसहित देशभरबाट पाँच सय पचास बढी धावकहरुकाे सहभागीता रहेकाे थियाे ।