आज २२औँ राष्ट्रिय धान दिवस, दाङमा ३० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

घोराही, १५ असार । आज राष्ट्रिय धान दिवस । मुठी छरेर मुरी उब्जाउने दिनका रुपमा पनि यो दिनलाई लिने गरिएको छ । सरकारले नै २०६१ सालदेखि हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरेको छ ।
यो वर्ष ‘धानबालीमा सघनताः खाद्य सुरक्षा र आत्मर्निभरता’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । तर, मध्ये असार बितिसक्दा पनि मुख्य बालीमा रुपमा लिईने धान रोपाइँको काम दाङमा मुस्किलले ३० प्रतिशत क्षेत्रफलमा मात्रै भएको छ । जिल्लाको सिँचाइ सुविधा भएका स्थानमा किसानले जेठ अन्तिम साताबाट धान रोप्न शुरु गरेपनि अधिकांश ठाउँमा अझै खेत बाँझै छन् ।
नेपालमा मनसुन समयममै भित्रिए पनि पानी पर्याप्न रुपमा नपर्दा जिल्लामा यो वर्ष धान रोपाइँले गति दिन सकेको छैन । यद्यपि, गत वर्षको तुलनामा यो वर्ष धेरै ठाउँमा धान रोपाइँ भईसकेको छ ।
पर्याप्त सिँचाइ सुविधा नभएको ठाउँका कृषकले बेलैमा धानको ब्याड राख्न नपाउनेदेखि खेतीपातीका लागि पानी अभावमा समयमा काम गर्न नपाउँदा किसानलाई धान रोप्न ढिलाई हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार असार १४ गतेसम्म जिल्लामा ३० प्रतिशत धान रोपाइँ भएको छ । समयमा पानी नपर्दा जिल्लामा अधिकांश ठाउँमा किसानले धान रोप्न सकेका छैनन् । सिंचाइको सुविधा हुने केही स्थानमा धान रोपाइँ भए पनि अधिकांश ठाउँमा खेत बाँझै छन् । ढिला गरी पानी परेपछि अहिले किसान धानको ब्याड राख्न थालेका छन् ।
जिल्लाको देउखुरी क्षेत्रको राप्ती, लमही, गढवा, राजपुर गाउँपालिका बाहेक अरु पालिकामा थोरै मात्रामा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । अहिले किसान खेत पस्ने क्रम शुरु भएकाले अब धान रोपाई व्यापक रुपमा हुने उहाँले बताउनुभयो ।
जिल्लामा सबैभन्दा बढी राप्ती गाउँपालिकामा धान रोपाइँ भएको छ । सूचना अधिकारी लामिछानेले भन्नुभयो, ‘मध्येअसार बितिसक्दा पनि यस वर्ष ढिला गरी बर्षात हुँदा जिल्लामा रोपाइँ हुने कुल क्षेत्रफलको करीव ९० प्रतिशत धान रोपाइँ देउखुरी क्षेत्रमा भईसकेको छ । तर, जिल्लाभरको अवस्था हेर्दा भने करिब ३० प्रतिशत मात्रै रोपाइँ भएको छ ।’
अरु पालिकामा त अझै धेरै जसो ठाउँमा धानको ब्याड राख्ने काम भएको छैन । खेतका गरा बाँझै छन् । सिंचाइ सुविधा हुने ठाउँमा पहिले ब्याड राखेका किसानले रोपाइँ सुरु गरेको हुँदा अब रोपाइँ भएको तथ्यांक बढ्दै जाने छ । पानी पर्न थालेको र किसानले राखेको ब्याड पनि तयार हुने अवस्था भएकाले अब धान रोपाइँको अवस्था बढ्ने उहाँले बताउनुभयो । जिल्लामा यो वर्ष ३७ हजार २ सय २५ हेक्टरमा धान रोपाइँ हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । गत वर्ष पनि जिल्लामा ३७ हजार २ सय २५ हेक्टरमा धान खेती भएको थियो । पछिल्लो समय तरकारी तथा फलफुल खेतीतर्फ किसान थपिँदै जान थालेपछि वर्षेनी धान खेती हुने क्षेत्रफल घट्दै गईरहेको ज्ञान केन्द्रका कृषि अर्थविज्ञ लामिछानेले बताउनुभयो ।
यसैगरी, कृषियोग्य जमिन घडेरीका रुपमा परिणत हुन थालेपछि पनि खेती हुने क्षेत्रफल खुम्चिँदै गएको छ । कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ लामिछानेले भन्नुभयो ‘धान, गहुँ, मकै फल्ने खेतबारी अहिले घडेरी बन्न थाले । उद्योग कलकारखाना खुल्न थाले । यसले गर्दा खेतीयोग्य जग्गा खुम्चिन थाल्यो, भएका खेतमा पनि अन्नबाली नलगाउने, बाँझै राख्ने अनि सबै खाद्यान्न किनेर खाने चलन बढेर गएको छ । यसले खेतीयोग्य जमीन प्लटिङमा परिणत भएको छ ।’
दाङमा ६९ हजार नौ सय ५० हेक्टर जमिन खेतीयोग्य रहेको सरकारी तथ्यांक छ । जसमध्ये ६५ हजार नौ सय ८० हेक्टर जग्गामा मात्रै खेतीपाती हुने गरेको तथ्यांकले देखाउँछ । बाँकी दुई हजार सात सय ८० हेक्टर खेतीयोग्य जमिन खुम्चिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।