बंगलाचुलीमा ट्याक्टर दुर्घटनामा तीन जना घाइते

घोराही, १५ असार । दाङमा भएको ट्याक्टर दुर्घटनामा तीन जना विद्यार्थी घाइते भएका छन् ।
बंगलाचुली गाउँपालिका–६ रिभानमा भएको ट्याक्टर दुर्घटनामा सुधा मावि झेल्नेटामा अध्ययनरत तीन जना विद्यार्थी घाइते भएका हुन । घाइते हुनेमा बंगलाचुली गाउँपालिका–६ रिभान निवासी १५ बर्षीया आयुषा विक, सोही ठाउँ निवासी १५ वर्षीय पुनम महरा र १४ बर्षीय नविन महरा रहेका छन् ।
घाईतेमध्ये पुनम महराको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय कमिरेचौरले जानकारी दिएको छ । गम्भीर घाइतेलाई बंगलाचुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराहीस्थी रिफर गरिएको छ भने बाँकी दुई जनाको बंगलाचुली अस्पतालमा उपचार भईरहेको छ ।
घोराहीदेखि खानेपानीको पाईप र वालुवा लिएर बंगलाचुली–६ रिभानतर्फ जाँदै गरेको लु ४ त ९५१७ नम्वरको ट्याक्टर अनियन्त्रित भएर करिव ५ बजेतिर दुर्घटनामा परेको थियो । विद्यालयको पढाई सकेर घर फर्किदै गर्दा ट्याक्टरमा चढेका विद्यार्थी दुर्घटनामा परेका हुन । दुर्घटनामा परेको ट्याक्टर चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।