डिसीद्वारा जन्मदिनमा अपांगता भएकालाई खाद्यान्न सामग्री सहयोग

घोराही, २० असार । दाङ महिला जेसीजकी महासचिव एवम् स्वास्थ्यकर्मी भीमा डिसीले अपांगता भएकाहरुलाई खाद्यान्न सामग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिँगौरास्थित नेपाल अपांग संघ खगेन्द्र नजीवन केन्द्र स्वर्गद्वारी शाखामा बस्दै आएका अपांगता भएकाहरुको लागि खानपानमा केही भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यसहित जन्मदिनको अवसर पारेर शुुक्रबार खाद्यान्न सहयोग गर्नुभएको हो ।
जन्मदिन मनाउने नाममा फजुल खर्च गर्ने, भोजभतेर गर्ने चलन बढ्दै गएको बेला डिसीले आफ्नो जन्मदिन अपांगता भएकाहरुसँग खुसी साटेर मनाउनुभएको हो । ‘फजुल खर्च कटाएर बालबालिका, अपांगता भएका तथा सहयोगापेक्षीहरुमा लगानी गर्न आवश्यक छ । बुवाआमाको आशिर्वाद अनि सबैको साथ हौसलालाई आत्मसात गरेर असल मानव बन्ने अठोटमा हरेक वर्ष सामाजिक क्षेत्रमा केही भएपनि योगदान दिन सकुँ भनेर केही दिएर जन्मदिन मनाउने गरेकी छु’ डिसीले भन्नुभयो ‘यो पटक अपांगता भएकाहरुसँग बसेर जन्मदिन मनाउने अवसर पाएँ । हरेक वर्ष मैले शैक्षिक सामग्री अभावमा कोही पनि पढ्नबाट वन्चित हुन नपरोस् भनेर सहयोग गर्नेदेखि पर्यावरण जोगाउन वृक्षारोपण पनि गर्ने गरेकी छु ।’
अनेरास्ववियू पूर्व केन्द्रीय सदस्यसमेत रहेकी डिसीले नेपाल अपांग संघ खगेन्द्र नजीवन केन्द्र स्वर्गद्वारी शाखामा बस्दै आएकाहरुका लागि चामल, दाल, तेल, पिठो, तरकारीलगायत खाद्यान्न सामग्री संस्थाकी सभापति रुपा वलीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा, सभापति वलीले अपांगता भएकाहरुलाई समाजले हेर्ने दृष्टिकोण बदल्न सबैको साथ चाहिने भन्दै जन्मदिनमा अपांगता भएकाहरुका लागि गरेको सहयोग प्रति धन्यवाद दिनुभयो ।
जन्मदिनकै अवसर पारेर उहाँले घोराही १५ काठेकोलस्थित सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत १ छात्रको पढाई लेखाईको सम्पूर्ण खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गर्नुभएको छ । यसैगरी, घोराही १६ सानी अम्बापुरस्थित राप्ती ईन्जिनियरिङ कलेजमा विभिन्न प्रजातिका विरुवा पनि रोप्नु भएको छ ।
मानवताकाे सेवा नै जीवनकाे सर्वाेत्तम कार्य हाे भन्ने भाव बुझ्नु भएकी डिसीले गत वर्ष पनि वडा नम्बर १६ मा रहेको श्री प्राथमिक विद्यालय सानी अम्बापुरमा अध्ययनरत ६४ जना विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुगोस् भन्दै जन्मदिनको अवसरमा कापी, कलम, बिस्कुट, भलिबल, फुटबल सहयोग गर्नुभएको थियो ।