Ad Area

लुम्बिनी फुटबल एकेडेमीका खेलाडी फुटबल खेल्न युराेपकाे डेनमार्क जाँदै


घाेराही, २१ असार । लुम्बिनी फुटबल एकेडेमीबाट प्रशिक्षण गर्दै आएका १६ वर्ष मुनिका खेलाडीले युरोपको डेनमार्कमा प्रतियोगिता खेल्न जाने भएका छन् । डेनमार्कस्थित अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागी हुन लुम्बिनी फुटबल एकेडेमीको टोली जान लागेका एकेडेमीका अध्यक्ष समीर वलीले जानकारी दिनुभयो ।

नेपालबाट पहिलो पटक यस प्रकारको प्रतियोगितामा उमेर समुहबाट खेलाडी सहभागी हुन लागेका वलीले बताउनुभयो । प्रतियाेगिता खेल्न जाने खेलाडी, अफिसियल सबैको भिसा पनि आईसकेको छ । यही साउन ५ गतेदेखि अर्थात् २०२५ जुलाई २१ तारिखबाट शुरु हुने डेनमार्कको पुरानो र प्रतिष्ठित प्रतियोगितामा भाग लिन लुम्बिनी फुटबल एकेडेमीबाट १२ जना खेलाडी र ३ अफिसियल गरी १५ जनाको टोली जान लागेका उहाँले बताउनुभयो ।

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जान लागेका खेलाडीमा एकेडेमीले पूर्ण छात्रवृत्तिमा प्रशिक्षण दिँदै आएको रामकरण सदासहित प्रितम बुढा, प्रनम्य फिलोस शाही, आशिष नाथ, सक्षम पुन मगर, ग्रिष्म चौधरी, विकास पुरी, आशुतोष भण्डारी, नवीन वली, अग्रम्शु प्रोस्पर घिमिरे, मेरिस चौधरी र सञ्जय वली रहेका छन् । उनीहरुका साथमा अफिसियल टोली पनि जानेछ । खेलाडी, अफिसियल सबैले जाने आउने टिकट खर्च आफै व्यहोर्ने छन् । रामकरण सदाको सबै खर्च भने एकेडेमीले नै व्यहोर्ने भएको छ ।

सन् १९८२ देखि यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको क्लबले यो पटक पनि ५० बढी देशबाट १ हजार बढी खेलाडीलाई सहभागी गराउँदैछ । लिग चरणमा हुने खेलमा नेपालको प्रतिनिधित्व गर्दै लुम्बिनी फुटबल एकेडेमीका युवा टोलीले खेल्नेछन् । डेनमार्ककै सबैभन्दा ठूलो स्पोर्टस इभेन्टका रुपमा लिइएको प्रतियोगिता विश्वस्तरको सबैभन्दा उच्च स्तरको रहेको आयोजकको दावी छ ।

युरोपियन फुटबल एशोसियसनले समेत प्रमाणित गरेको प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेका खेलाडीले यो आफुहरुका लागि लागि निकै ठूलो अवसर भएको जनाएका छन् । स्थानीय स्तरमा खेल खेल्दै आएका खेलाडीहरुको मनोबल बढाउन तथा अन्तर्राष्ट्रिय खेल मैदानमा सहभागी गराउँदै खेलाडीको खेल क्षमता उजागर गर्न यस प्रकारको प्रतियोगिता निकै महत्वपूर्ण हुने एकेडेमीका अध्यक्ष वलीले बताउनुभयो ।

करिव ३ वर्ष अघि स्थापना भई सञ्चालनमा आएको लुम्बिनी फुटबल एकेडेमी निजि स्तरबाट सञ्चालित लुम्बिनी प्रदेशकै पहिलो फुटबल एकेडेमीका रुपमा परिचित छ । घोराही १७ गैरागाउँस्थित आफ्नै निजि खेल मैदानमा फुटबल प्रशिक्षण गराउँदै आएको एकेडेमीले खेलकुद क्षेत्रको विकासका साथै समाजमा आर्थिक र सामाजिक रुपमा पछाडि परेका बालबालिकाहरुलाई अवसर प्रदान गर्ने लक्ष्य लिएको छ । फुटबल प्रशिक्षणसँगै एकेडेमीले खेलाडीहरुको मानसिक, शारीरिक र चारित्रिक विकासमा पनि विशेष ध्यान दिँदै आएको अध्यक्ष वलीले बताउनुभयो ।

लुम्बिनी फुटबल एकेडेमीले खेलकुदको माध्यमबाट युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वास निर्माण गर्दै उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउने लक्ष्यका साथ अघि बढेको हुँदा एकेडेमीलाई सहज रुपमा सञ्चालन गर्न सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।