Ad Area

बाघको छालासहित पक्राउ, लमहीमा व्यवसायिक डिलपछि खबरी पुगेका थिए कारोबारी


दाङ, २३ असार । देउखुरीबाट प्रहरीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित गढवा गाउँपालिका–६ खबरीबाट तीनलाई पक्राउ गरेको हो ।

लमहीमा बाँघको छाला खरिद बिक्रीका लागि कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा गढवा गाउँपालिका–६ खबरी निवासी ४१ वर्षीय विक्रम बुढा मगरको घरबाट आइतवार बिहान करिब दुई बजेतिर बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ गुरुङखोला निवासी ५३ वर्षीय केशवराज सेन ठकुरी, गढवा गाउँपालिका–६ खबरी निवासी ४१ वर्षीय विक्रम बुढा मगर र बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–४ पदनाह निवासी ३३ वर्षीय अनिल थारू रहेका छन् ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्लास्टिकको जेब्रा झोलाभित्र लुकाएर राखेको अवस्थामा शिरदेखि पुच्छरसम्म नौ फिट दुई इन्च लम्बाई र तीन फिट दुई इन्च चौडाई भएको पाटे बाघको छालासहित तीनलाई कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्तलाई डिभिजन वन कार्यालय लमहीमा बुझाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको छ ।

कसरी पक्राउ परे ?

लमही बजारको एक होटेलमा पाटे बाघको छालाको किनबेच हुन थालेको भन्ने सूचना वडा कार्यालय लमहीले शनिवार दिउँसो पाएको थियो ।
उक्त सूचनापछि वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वमा प्रहरी खटिएको टोलीले उक्त टोलीलाई पिछा गरेको थियो । लमहीमा करिब १६ लाख (१० लाख भारतीय) रुपैयाँमा बाघको छाला बिक्री गर्ने र पैसा भारतीय भूमिमा छाला पु¥याएपछि पाउने केशवराज सेन ठकुरी, विक्रम बुढा मगर र अनिल थारूका बिचमा सहमित भएको थियो ।

बाघको छाला भारतको दिल्लीमा बस्ने एक नेपालीले खरिद गर्ने ह्वाट्सएपमार्फत् कुराकानी भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार लामो समयदेखि वन्यजन्तुको सिकारीमा संलग्न बुढा मगरले देउखुरीकै जङ्गलमा पाटे बाघ मारेका थिए ।

बुढाले मारेको बाघको छाला बिक्रीका लागि ठकुरी र चौधरीले मिलेर विभिन्न व्यक्तिसँग डिल गरिरहेको र त्यसै क्रममा भारतमा बस्ने एक नेपालीले खरिद गर्ने डिल भएपछि लमहीबाट बाघको छाला ल्याउन खबरी पुगेका उनीहरूलाई पिछा गरिरहेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।