Ad Area

क्याफे, रेष्टुरेन्ट र बेन्क्वेट सेवा अब घोराहीको कौशीमा


घोराही, ८ साउन । दाङका ८ जना युवाहरुले घोराहीमा कौशी ग्रुप स्थापना गरी एकीकृत सेवा प्रदान गर्ने लक्ष्यसहित क्याफे, रेष्टुरेन्ट र बेन्क्वेट संचालनमा ल्याएका छन् ।

युवाहरु रोशन दाहाल, मिनराज भाट, रजिव उल्लाह खान, मिनेश श्रेष्ठ, माधव पौडेल, किरण श्रेष्ठ, कपिल बर्मा र आशिष रानाले घोराही १५ शिवबस्ती टोलमा कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेटबाट क्याफे, रेष्टुरेन्ट र बेन्क्वेट सेवा संचालनमा ल्याएका हुन् ।

नवीन सोँच, प्रविधि र गुणस्तरीय सेवा एकैथलोमा प्रदान गर्ने गरी युवाहरुको सक्रियतामा कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेट संचालनमा ल्याएको बिहीबार पत्रकार सम्मेलन गरी कौशी ग्रुपले जानकारी गराएको छ । करिब २ करोडको लागतमा ९ जना युवालाई रोजगार दिएर कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेट संचालनमा ल्याएको कौशी ग्रुपका संचालक रोशन दाहालले बताउनुभयो ।

खुला, शान्त अनि पूर्ण पारिवारिक वातावरणमा सहुलियत दररेटमा गुणस्तरीय सेवा कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेटबाट पाउन सकिने उहाँले बताउनुभयो । विवाह, पार्टी, पास्नी, भोज, औपचारिक कार्यक्रमलगायतका लागि ४ सय क्षमताको पूर्ण प्रविधियुक्त बेन्क्वेट हल रहेको उहाँले बताउनुभयो ।

‘बजार माग अनुसार सहुलियत दररेटमा गुणस्तरीय सेवा दिन हामीले कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेट खोलेका हौँ, अहिलेको बजार मागलाई ध्यानमा राखेर कफी हाउसदेखि रेष्टुरेन्टमा प्रविधिसहितको स्तरीय सेवा बिस्तार गरेका छौँ’ संचालक दाहालले भन्नुभयो ‘अरु ठाउँमा भन्दा हामी कहाँ सबै परिकार गुणस्तरीय र स्वादिष्ट पाउनुहुनेछ भने मुल्य पनि सहुलियत रहेको छ ।’

असार २९ गते थालनी गरी साउन ९ गते विधिवत उदघाटन हुने कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेटको करिव सबै तयारी पूरा भएको उहाँले बताउनुभयो । उहाँका अनुसार, साउन ९ गते दिउँसो लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

क्याफे, रेष्टुरेन्ट र बेन्क्वेट सेवा बिस्तारले घोराहीबासीका लागि पनि नयाँ आयाम थपेको नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासनले बताउनुभयो । उहाँले युवा सोँचलाई नवीनशैलीमा उतारेर दाङको आर्थिक विकासमा योगदान दिने गरी क्याफे, रेष्टुरेन्ट र बेन्क्वेट एकै थलोमा संचालन गर्दा सेवाग्राहीलाई सजिलो हुने र आर्थिक भार पनि कम पर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले होटल व्यवसायलाई परिस्कृत गरी स्तरीय सेवा प्रदान गर्ने सोँचको विकासमा कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेटले राम्रो सन्देश दिएको बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण कौशी ग्रुपका संचालक मिनराज भाटले गर्नुभएको थियो ।