जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन प्रशासनको आग्रह

घोराही, २० साउन । भारी बर्षासँगै राप्ती तथा बबई नदीलगायतका खोलाहरुमा पानीको बहाव बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ ।
मंगलवार जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै विगत केही दिनदेखि दाङसँगै रोल्पा, प्युठानलगायतका जिल्लाहरूमा मनसुन सक्रिय भइ भारी बर्षा भइरहेको र दाङ भएर बग्ने राप्ती तथा बबई नदीमा पानीको बहाव बढिरहेकाले डुवान तथा कटानको उच्च जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा हस्ताक्षरित सूचनामा जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने महिला, बालबालिका, जेष्ठ नागरिक, अपांङ्ग भएका व्यक्ति बढी जोखिममा पर्ने भएकाले विशेष सतर्कता अपनाउनका साथै सुरक्षा निकायको सम्पर्कमा रहन समेत अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी लम्सालले नदी बहने क्षेत्रका स्थानीय तहहरुलाई नदीको आसपासमा बसोवास गरेका नागरिकलाई स्थानीय बिपद् व्यवस्थापन समितिबाट मनसुनजन्य पूर्व तयारी तथा प्रतिकार्य योजनाअनुसार कार्य गर्न हुन र उक्त क्षेत्रमा क्यूआरटी तयारी गरि प्रतिकार्यमा जुट्न समेत अनुरोध गर्नुभएको छ ।
साथै बाढी, डुबान तथा पहिरोको सम्भावित असरलाई मध्यनजर गर्दै स्थानीय सुरक्षा निकाय, पालिकाहरू, रेडक्रस, नागरिक समाज, सञ्चार माध्यम र सरोकारवाला निकायहरूलाई विपद्को समयमा सतर्कता अवलम्वन, उद्धार तथा बिपद प्रतिकार्यमा सक्रिय भइरु जिल्लामा भएको साधन श्रोतको समन्वयात्मक व्यवस्थापनसहित तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
विपद् सम्भावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्नुपर्ने अवस्था आइपर्न सक्ने जनाउँदै प्रशासनले तत्काल पूर्वतयारी गर्न आह्वान गरेको छ। सूचनामा स्थानीय तहहरूसँग समन्वय गरी सुरक्षित स्थानको पहिचान, आवश्यक सामग्री व्यवस्थापन, राहत तथा उद्दार कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।