शिव महापुराण तथा महाआरतीमा रोका परिवारद्वारा ६२ हजार दान

घोराही, २० साउन । घोराही १७ गुलरियामा जारी एक महिने शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा दैनिक नगद दान गर्ने दाताहरु थपिँदै गएका छन् ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सहिद स्मारक पार्क, सांस्कृतिक सङ्ग्रहालय परिसर र शिव पार्वती तथा राधाकृष्ण मन्दिरको संरक्षण तथा भौतिक स्तर उन्नतिका लागि आयोजित शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा नगद दान गर्ने दाता थपिँदै गएका हुन् ।
मंगलबार घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियास्थित जमुना टोल निवासी चन्द्रबहादुर रोका र उहाँकी श्रीमती जानकादेवी रोकाले शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा ६२ हजार १ सय ११ रुपैयाँ नगद दान गर्नुभएको छ ।
धार्मिक मन्दिर परिसरको सौन्दर्यकरण, सङ्ग्राहालयको स्तरोन्नति, पदमार्ग, विश्राम गृह, बत्ती व्यवस्थापन, पानी सुविधा जस्ता आधारभूत संरचनाको सुधार तथा थप विकासका लागि सहयोग पुगोस् भन्ने उद्देश्यसहित नगद दान गरेको रोकाले बताउनुभयो ।
शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् शिवपुराण तथा श्रृङ्गारिक महाआरती मूल आयोजक समिति संयोजक गोविन्द गोराथोकीले धार्मिक अनुष्ठान सफल बनाउन सहयोग गर्नुहुने दाता परिवारलाई धन्यवाद दिनुभयो । गुलरिया पार्क राम्रो बनाउनु सबैको साझा दायित्व र जिम्मेवारी रहेको हुँदा जित शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा सहभागी भई पुण्यलाभ कमाउन आयोजकले सबैमा अनुरोध गरेको छ ।
शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा हरेक दिन बिहान साढे ४ बजेदेखि योग साधनाबाट शुरु हुने गरेको छ । रुद्री, रूद्राभिषेक, लक्ष्यवर्तिका, चौरासी पूजा, जन्मदिन, गृहपूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध, चूडाकर्मलगायत साँझ दैनिक महाआरती हुने गरेको छ । महाआरतीमा दैनिक उल्लेख्य भक्तजनको उपस्थिती हुने गरेको छ । शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीका प्रमुख कथावाचक सुप्रसिद्ध पण्डित आचार्य श्यामशरण रहनु भएको छ ।