Ad Area

बालक हत्या आरोपमा दोषी ठहर महिला २२ बर्षपछि पक्राउ


घोराही, २१ साउन । दाङमा बालक हत्याको आरोपमा अदालतबाट दोषी ठहर भएकी महिला २२ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । तत्कालिन पुनरावेदन अदालत तुलसीपुरबाट दश बर्ष कैद सजायको फैसलापछि फरार गढवा गाउँपालिका–७ मानपुर निवासी ५० वर्षीया बसन्ता शर्मा पण्डितलाई २२ वर्षपछि प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी महिलालाई सौताको नौ वर्षीय छोराको हत्या गरेको अभियोगमा तत्कालिन पुनरावेदन अदालत तुलसीपुरले २०६० माघ ३ गते दश वर्षको कैद सजाय तोकेपछि फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार बालक हत्याको आरोपमा जिल्ला अदालत दाङले २०६० असोज २६ गते गरेको दुई वर्षको कैद सजायलाई उल्टाएर दश बर्ष कैद सजायको फैसला गरेपछि शर्मा फरार रहेकी थिइन ।

लामो समयदेखि फरार रहेकी शर्मा काठमाडौंमा छोरासँग बसेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले साउनको २० गते मंगलवार बिहान ८ बजेतिर पक्राउ गरेको प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए । प्रहरी उपरीक्षक तिमिल्सेनाका अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंसँगको समन्वयमा शर्मालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्र गोंग्बुबाट पक्राउ गरेको हो । २०५९ असार १९ गते शर्माले सौताको नौ बर्षीय छोरा शरद शर्मामाथि लाठी प्रहार गरी हत्या गरेपछि शव मलखादमा गाडेको अवस्थामा फेला परेको थियो ।

पक्राउ परेकी शर्मालाई कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालत बुझाएको र त्यहाँबाट कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर घट्नाका बारेमा जानकारी गराएको हो ।