Ad Area

राप्ती इञ्जिनियरिङमा बिई इन्फर्मेसन एण्ड कम्युनिकेशन पढाई हुने


दाङ,२१ साउन । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित राप्ती इञ्जिनियरिङ कलेजले शैक्षिकसत्र २०८२ देखि बिई इन्फर्मेसन एण्ड कम्युनिकेशन कार्यक्रम सञ्चालनमा ल्याएको छ । कलेजले बुधबार घोराहीमा पत्रकार सम्मेलनमार्फत नयाँ शैक्षिक कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

कलेज सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा शैलेन्द्र गिरीले कलेजले शैक्षिक सत्र २०८२ देखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर ४ बिई इन्फर्मेसन एण्ड कम्युनिकेशन इञ्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याएको बताएका हुन । उनले यो कार्यक्रमले सूचना प्रविधि, इलेक्ट्रोनिक्स र दूरसञ्चार इञ्जिनियरिङका विविध पक्षहरूलाई समेट्ने जानकारी दिए ।

नवप्रवर्तन, औद्योगिक सहकार्य र व्यावहारिक शिक्षामा जोड दिँदै, यो कार्यक्रमले विद्याथीहरूलाई सूचना प्रविधि र सञ्चार क्षेत्रका चुनौतीहरू समाधान गर्न सक्ने दक्षता समेत प्रदान गर्ने बताए । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूल लक्ष्यका साथ राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति उत्पादनको कार्यलाई टेवा पु¥याउने उद्देश्यले घोराहीमा २०६४ सालमा राप्ती इन्जिनियरिङ कलेजको स्थापना गरिएको बताएका थिए ।

निर्देशक डा शैलेन्द्र गिरीले बिई इन्फर्मेसन एण्ड कम्युनिकेशनका लागि ४८ जनाको सिट संख्यामा भर्ना खुला गरिएको र त्यसमा ५ जनलाई छात्रवृत्ति दिइने व्यवस्था रहेको बताए । उनका अनुसार बिबिए, बिसिए र बिई कम्प्युटरमा ४८÷४८ जनाको भर्ना क्षमता रहेको र त्यसमा ५÷५ जनालाई छात्रवृत्तिसम्बन्धी व्यवस्था रहेको छ । तस्तै बिई सिभिलमा ९६ जनाको भर्ना क्षमता रहेकोमा १० जनालाई छात्रवृत्ति दिइने व्यवस्था रहेको छ । कलेजले ब्याचलरतर्फ वार्षिक रुपमा ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गरेको जानकारी दिएका थिए ।

कलेजबाट उत्पादन भएका ८० प्रतिशत भन्दाबढी विद्यार्थीहरु रोजगारीमा जोडिएको बताउँदै उहाँले कलेज सर्वसाधारणको सहज पहुँच पुग्नेगरी गुणस्तरयुक्त प्राविधिक शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।कलेजले मुलुकको दक्ष जनशक्ति उत्पादनमा ठूलो टेवा पुर्याउँदै आएको बताउँदै भविष्यमा मोडेल कलेजको रुपमा स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको भन्दै कार्यकारी निर्देशक डा गिरीले अन्तर्राष्ट्रियस्तरको आईएसओ ९००१ः२०१५ प्रमाण–पत्र प्राप्त गरेको कलेजले उत्पादित जनशक्तिले अन्तराष्ट्रिय बजारमा सहज रुपमा काम गर्न सजिलो भएको बताए ।

संयुक्त अरब इमिरेट्सको दुबईमा कलेज रिडर्सद्धारा आयोजित कार्यक्रममा उत्कृष्ट इन्जिनियरिङ कलेज अवार्ड–२०२२ प्राप्त गरेको कलेजले जापानको टोकियोमा रहेको संस्था र राप्ती इन्जिनियरिङ कलेज बीच समझदारी पत्रमा हस्ताक्षर गरेर काम गर्दै आएको छ । उच्चस्तरीय सूचना प्रविधि आयोजद्वारा स्थापित सूचना प्रविधि अनुसन्धान तथा विकास केन्द्रका रुपमा रहेकोमा राप्ती इञ्जिनियरि कलेजद्धारा स्थापित रेक अनुसन्धान तथा विकास केन्द्रले अनुसन्धानको कार्यलाई अगाडि बढाई रहेको पनि जानकारी गराएको छ ।

विद्यार्थीहरुको चौतर्फी विकासको लागि क्वालिटी सर्कल, सिभिल क्लव, स्पोर्ट क्लव, आईसिटी क्लवको स्थापना गरेको बताएका थिए । कलेज सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा शैलेन्द्र गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन कलेजका प्रिन्सिपल रेशम गिरीले गरेका थिए ।