Ad Area

घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप सुरु


घोराही, २२ साउन । घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप–२०८२ सुरु भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा विहीवारदेखि जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप सुरु भएको हो ।

च्याम्पियनसिपको उद्घाटन नेपाल हाप्किडो महासंघ तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीले गर्दै नेपालमा हाप्किडो खेल र खेलाडीको क्षमता विकासका लागि विभिन्न समया हुने प्रतियोगिताले महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । खेल क्षेत्रले मानिसलाई शारिरीक रुपमा स्वस्थ्य र अनुशासितसँगै योग्य र दक्ष बनाउन सघाउने भन्दै प्रमुख अतिथि घर्तीले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहबाट खेलकुदका गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय हाप्किडो खेलप्रति आकर्षण बढ्दै गएको भन्दै उहाँले खेलका माध्यमबाट व्यक्ति र राष्ट्र चिनाउने गरी खेलकुदका गतिविधि संचालन हुन आवश्यक रहेको बताउनुभएको थियो । शुक्रवारसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ६० बढी विद्यालय तथा डोजाङबाट पाँच सय बढी खेलाडीको सहभागिता रहेको हाप्किडो संघ दाङका अध्यक्ष महेश गुरुङले जानकारी दिनुभएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्ने अन्य बक्ताले प्रतियोगिता जीत हार मात्रै नभई खेलाडीको खेल क्षमता निखार्ने माध्यम भएको भन्दै खेलाडीलाई निर्धक्कसँग खेल्न आग्रह गर्नुभएको थियो । साथै बक्ताले खेलकुद शारिरीक तथा अनुशासनका लागि समेत महत्वपूर्ण हुने भन्दै बालबालिकालाई इच्छा अनुसार खेलकुदमा सहभागी गराउन अभिभावकलाई आग्रह गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तौल समूह, उमेर समूह र बेल्टका आधारमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । जसअन्तर्गत तौल समुहतर्फ महिला र पुरुष खेलाडीले १५ समूहमा प्रतिष्पर्धा गर्नेछन् । दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष गुरुङका अनुसार १६ केजीभन्दा कम तौल समुह, १६–२० केजी तौल समूह, २०–२४ केजी तौल समुह, २४–२८ केजी तौल समुह, २८–३२ केजी तौल समुह, ३२–३६ केजी तौल समुह, ३६–४० केजी तौल समुह,४०–४४ केजी तौल समुह, ४४–४८ केजी तौल समुह, ४८–५२ केजी तौल समुह, ५२–५६ केजी तौल समुह, ५६–६० केजी तौल समुह, ६०–६४ केजी तौल समुह, ६४–६८ केजी तौल समुह र ६८ केजीमाथिको तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् ।

उमेर समुहअन्तरगत पाँच वटा उमेर समुहमा प्रतिष्पर्धा हुनेछ । जसमा चिल्ड्रेन ‘ए’ मा ६–८ वर्ष उमेर समूह, चिल्ड्रेन ‘बी’ मा ९–११ वर्ष उमेर समुह, क्याडेट ग्रुप मा १२–१४ वर्ष उमेर समूह, जुनियर १५–१७ वर्ष उमेर समूह र सिनियरमा १८ वर्षमाथिका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । बेल्ट अनुसार सेतो, पहेँलो, खैरो, रातो र कालो बेल्ट समूह गरी पाँच समुहमा खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । च्याम्पियनसिपको उद्घाटन कार्यक्रममा युनिटी डोजाङ पनौराका खेलाडीले डेमो प्रस्तुत गरेका थिए ।