Ad Area

समाज कल्याण केन्द्रले मनायो ९औँ स्थापना दिवस


घोराही, २३ साउन । समाज कल्याण केन्द्र, दाङले आफ्नो ९औँ स्थापना दिवससँगै विभिन्न व्यक्तिहरुलाई सम्मान गरेर मनाएको छ । संस्थाकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य पूर्व स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख आतिथ्यमा शुक्रबार घोराहीमा संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो ।

महिला उद्यमशीलता, बालबालिकाका लागि निशुल्क शिक्षा, लागू औषध दुव्र्यसन नियन्त्रण र सामाजिक रूपान्तरणको लक्ष्य लिएर काम गर्दै आएको समाज कल्याण केन्द्रले ९ वर्षेयात्राका क्रममा थुप्रै सामाजिक काम गरेको जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि खनालले सामाजिक सेवाभावले समाज कल्याण संस्थाले गरिरहेको कामबाट समाजकै हीत भईरहेको बताउनुभयो । यस प्रकारको कामले सरकारले लिएको लक्ष्य पूरा गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । हरेक सामाजिक संघसंस्थाहरु समाजको हीतमा जुट्न सके सरकारले लिएको विकासको लक्ष्य पूरा गर्न सहज हुने बताउनुभयो ।

देशभरमै लुम्बिनी प्रदेशको सूचक निकै कमजोर रहेको हुँदा सूचक सुधार गर्न सबै सामाजिक संघसंस्थाले सरकारले लिएको लक्ष्य पूरा गर्न सघाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेशमा बालमृत्यु दर, मातृ मृत्यु दर, कुपोषण, मानसिक स्वास्थ्यलगायत स्वास्थ्य, मानवीय र सामाजिक विकासका सूचक सुधार्न प्रदेश सरकारले गरिरहेको प्रयासमा सबैको हातेमालो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अन्य वक्ताहरुले समाज कल्याण केन्द्रले खुत्रुके वचत अभियानबाट असहाय, जेहेन्दार, विपन्न बालबालिकाहरुलाई निशुल्क शिक्षा प्रदान गरेर उदाहरणीय काम गरिरहेको बताउनुभयो ।

कक्षा १२ सम्म पढ्दा लाग्ने सम्पूर्ण शैक्षिक खर्च संस्था स्वयंले व्यहोर्दै शैक्षिक अभिभावकत्व लिएपछि बालबालिकाहरु पीडा भुलेर आफ्नो भविष्यको मार्ग कोर्न सक्ने बनाएको उनीहरुको भनाई थियो ।

सामाजिक न्याय र परिवर्तनमा अग्रसर समाज कल्याण केन्द्रले बालबालिकालाई कुलतको चपेटा परेर बाटो बिराएकाहरुलाई सही मार्गमा हिडाउन सचेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ । युवाको भविष्य सुरक्षित बनाउन विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दै आएको संस्थाकी अध्यक्ष गौतमले बताउनुभयो ।

उहाँले महिला सशक्तिकरण अभियानलाई पनि साथसाथै अघि बढाउँदै सीप सिकाउनेदेखि स्वरोजगार बनाउने कार्यक्रमलाई पनि समुदाय स्तरमा पुर्याउने काम गरेको बताउनुभयो । हातमा सीप, तालिम दिएपछि महिलाहरु स्वरोजगार र आत्मनिर्भर बन्न थालेका संस्थाकी अध्यक्ष गौतमले बताउनुभयो । यसैगरी, वर्षौदेखि रोग लुकाएर बसेका महिलाहरुको उपचारमा पहुँच पुर्याउन स्वास्थ्य शिविर र सचेतना कार्यक्रम पनि गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष विमला योगी, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष अनिता पोख्रेल, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष प्रमिता चौधरी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघ दाङ शाखा सभापति भरतराज देवकोटालगायत बोल्नुभएको थियो ।

२०७३ साउन २३ गते महिलाहरु मात्रै सदस्य रहेको संस्था स्थापना गरी समाज कल्याणले समाजको कल्याणका लागि गरिरहेको सकारात्मक प्रयासलाई राज्यले पनि सघाउन जरुरी रहेको उनीहरुको भनाई थियो ।

स्थापना दिवसका अवसरमा संस्थाले लिएको लक्ष्य कार्यान्वयनमा सघाउने दर्जन बढी व्यक्ति र संस्थालाई सम्मान गरिएको छ । उपाध्यक्ष निरजा पोख्रेलको स्वागत एवम् विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव जानका केसीले गर्नुभएको थियो ।