Ad Area

अख्तियारमा दाङका तीन सय बढी उजुरी


लीलाधर वली

घोराही, २७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाङका उजुरी बढ्दै गएका छन् । स्थानीय तह, सरकारी कार्यालयलगायतका अन्य संघसस्थामा हुने भ्रष्टाचार, अनियमितता, प्रशासनिक र ढिलासुस्तीलगायतका विषयमा बर्सेनि उजुरी बढ्दै गएका छन् ।

आर्थिक बर्ष २०८०÷०८१ मा अख्तियारमा दुई सय ६७ वटा उजुरी परेकोमा यो संख्या बढेर आव २०८१÷०८२ मा तीन सय पाँच पुगेको छ । अख्तियारमा एक बर्षको अवधिमा परेका तीन सय पाँच उजुरीमध्ये जिल्लाका दश स्थानीय तहका मात्र एक सय ३७ वटा उजुरी रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगंजका सूचना अधिकारी कुशल न्यौपानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार बाँकी एक सय ६८ वटा जिल्लामा रहेको प्रदेश तथा संघअन्तर्गतका कार्यालयसँगै संघसस्थाहरका रहेका छन् ।

सूचना अधिकारी न्यौपानेका अनुसार स्थानीय तहका एक सय ३७ उजुरीमध्ये ७० वटा उजुरी बेनामी रहेका छन् । अख्तियारमा परेका स्थानीय तहका एक सय ३७ उजुरीमाथि छानविन र अनुसन्धान गर्दा एक सय २१ वटा उजुरी फछर्यौट भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । सूचना अधिकारी न्यौपानेका अनुसार आव २०८१÷०८२ मा जिल्लाका दश स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकाका सबैभन्दा धेरै ३३ उजुरी परेका छन् । आयोगमा परेका ३३ उजुरीमध्ये २७ वटा फछ्र्यौट भएका छन् भने ६ उजुरी बाँकी छन् ।

त्यसैगरी घोराही उपमहानगरपालिकाका २५ उजुरी परेका छन् । जसमा २० उजुरी फछ्र्यौट भएका छन् भने पाँच प्रक्रियामा रहेका छन् । दंगीशरण गाउँपालिकाका १६ उजुरीमध्ये १५ फछ्र्यौट भएका छन भने एउटा उजुरी बाँकी रहेको छ । लमही नगरपालिकाका १५ वटा, राजपुर गाउँपालिका र शान्तिनगर गाउँपालिकाका समान १२÷१२ वटा, गढवा गाउँपालिकाका १० वटा, बंगलाचुली गाउँपालिकाका छ वटा, बबई गाउँपालिका पाँच वटा र राप्ती गाउँपालिकाबाट तीन वटा उजुरी दर्ता अख्तियारमा उजुरी दर्ता भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार लमही नगरपालिकाका दर्ता भएकामध्ये १५ वटामध्ये १४ वटा, राजपुर गाउँपालिकाका १२ वटामध्ये १० वटा र गढवा गाउँपालिकाबाट दर्ता भएका १० वटामध्ये नौ वटा उजुरीमाथि छानविन र अनुसन्धानबाट फछयौट भएका छन् । शान्तिनगर गाउँपालिका, बंगलाचुली गाउँपालिका, बबई गाउँपालिका र राप्ती गाउँपालिकाबाट परेका सतप्रतिशत उजुरी फछयौट भएको सूचना अधिकारी न्यौपानेले बताउनुभएको छ ।