युवा दिवसमा दाङ महिला जेसीजद्वारा विद्यार्थीहरुलाई लागू औषध शिक्षा

घोराही, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा दाङ महिला जेसीजले युवाहरुका लागि आयोजना गरेको राम्रो स्वास्थ्य र कल्याणका लागि लागू औषध सचेतना कार्यक्रममा सहभागी युवा विद्यार्थीहरुले आफ्नो अमुल्य जीवनको अर्थबोध गरेका छन् ।
दाङ महिला जेसिज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा राप्ती शिक्षा क्याम्पसका प्रमुख हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा दाङको घोराहीस्थित राप्ती शिक्षा क्याम्पसमा मंगलबार भएको कार्यक्रममा विद्यार्थीहरुले लागु औषध शिक्षाबाट धेरै कुरा जान्ने मौका पाएको बताएका हुन् ।
शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्ण स्वस्थ रहन लागू औषधबाट टाढा रहँदै जीवनलाई कसरी अर्थपूर्ण बनाउन सकिन्छ भन्ने विषयमा जान्ने मौका पाएको विद्यार्थी शैलेन्द्र पुन मगरले बताउनुभयो ।
युवाहरुलाई योग्य, स्वस्थ र जिम्मेवार नागरिक बनाउनका लागि लागू औषध सचेतना कार्यक्रम हरेक युवाका बीचमा लैजान आवश्यक रहेको प्रशिक्षक बसन्त पुनले बताउनुभयो ।
युवाको नेतृत्व एवं व्यक्तित्व विकास गराउन जेसीजले लिएको उद्देश्य अनुरुप स्वस्थ र सुखमय जीवनका लागि युवाहरुलाई कुलतबाट मुक्त बनाउन यस प्रकारको सचेतना कार्यक्रम गरिएको दाङ महिला जेसिज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालले बताउनुभयाे ।
युवा नेतृत्वलाई सशक्त बनाउन दिगो विकास लक्ष्य अन्र्तगतका ७ वटा लक्ष्यहरु मध्ये राम्रो स्वास्थ्य र कल्याणका लागि लागू औषध सचेतना कार्यक्रम गरिएको बताउनुभयो ।
१२ अगष्ट २०२५ का दिन अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर दाङ महिला जेसीजले आयोजना गरेको लागू औषध सचेतना कार्यक्रममा राप्ती शिक्षा क्याम्पस र ज्ञानसिन्धु कलेजका १ सय २० बढी युवा विद्यार्थीहरु सहभागी भएका थिए ।
स्वास्थ्य संयोजक आकृति शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागीलाई उपाध्यक्ष दीपा पुनले आस्थापाठ गराउनुभएको थियो भने सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियो ।