Ad Area

बुदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कारका लागि दाङ महिला जेसीजद्वारा आवेदन माग


घोराही, २८ साउन । बुदादेवी गोराथोकी उत्कृष्ट महिला सम्मान तथा पुरस्कारका लागि दाङ महिला जेसीजले आवेदन माग गरेको छ ।
बुधबार घोराहीमा पत्रकार सम्मेलन गरी सम्मान तथा पुरस्कार कार्यविधि २०२२ अनुसारको मापदण्डमा रही आवदेन दिन महिलाहरुलाई आग्रह गरेको छ ।

दाङ जिल्ला भित्र सामाजिक क्षेत्र अन्तर्गत विविध विधामा मध्ये कुनै एक क्षेत्रमा कम्तिमा पाँच वर्षदेखि विशेष योगदान पुर्याउँदै आएका महिलालाई पुरस्कृत गर्ने उद्देश्यसहित दाङ महिला जेसीजले आवेदनका लागि आह्वान गरेको छ ।

जेसीज अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा आगामी भदौ ११ गते बेलुकी ५ बजेसम्म आवेदनको समय तोकिएको जानकारी गराईएको छ ।

स्थायी ठेगाना दाङ भई स्थानीय वा राष्ट्रिय स्तरमा सामाजिक क्षेत्रमा योगदान पुर्याएका महिला व्यक्तिले पुरस्कारका लागि आवेदन दिन सक्ने प्रतिभा छनोट समिति संयोजक कार्यकारिणी उपाध्यक्ष लक्ष्मी घमालले जानकारी दिनुभयो ।

सिफारिस गरिने व्यक्ति नेपाली नागरिक हुनुपर्ने, नेपालमा बसोबास गरी सामाजिक क्षेत्रमा योगदान दिएको हुनुपर्ने, सिफारिस गरिने व्यक्तिको स्थायी ठेगाना दाङ जिल्ला हुनुपर्ने, सामाजिक क्षेत्र अन्तर्गत विभिन्न विधामा योगदान गरेको महिला व्यक्ति हुनुपर्ने मापदण्ड रहेको अध्यक्ष ढकालले बताउनुभयो । पुरस्कारका लागि महापदण्ड पुगेकाहरुले आवेदन दिन चाहेमा जेसीज अध्यक्ष अनिता ढकाललाई ९८४९२८५४१३ मा सम्पर्क गरी थप जानकारी लिन सकिने छ भने आवेदनका लागि Jcanitadhakal25@gmail.com मा मेल गर्न सक्नुहुनेछ ।

घोराही १५ निवासी बुदादेवी गोराथोकीले सन् २०२२ मा सामाजिक क्षेत्रका विविध विधामा योगदान दिएका महिलाहरुको उच्च मूल्यांकन गर्दै सम्मान गर्ने उद्देश्यका साथ स्थापना गर्नुभएको अक्षयकोषबाट यो सम्मान तथा पुरस्कार प्रदान गर्ने गरिएको छ । यसबाट सन् २०२३ मा पहिलो पटक विमला योगी सम्मानित तथा पुरस्कृत हुनुभएको थियो ।

युवाहरुको व्यक्तित्व र नेतृत्व विकास, समाजमा अग्रणी भूमिका निर्वाह तथा नेतृत्व हस्तान्तरण सहित यूवाहरुको पहुँच समाजमा बढाउने उद्देश्यका साथ काम गर्दै आएको दाङ महिला जेसीजले महिलाहरुको सम्मानका लागि थालिएको यो प्रयास अनुकरणीय रहेको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुवेदीले बताउनुभयो । कोषाध्यक्ष अर्चना शर्माको जेसीज आस्थापाठबाट शुरुभएको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियो ।