तोडफोड, आगजनी र लुटपातमा संलग्नको खोजी गर्दै प्रहरी

दाङ, ३ असोज । प्रहरीले जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको पहिचान र खोजी कार्यलाई अगाडि बढाएको छ । दाङ जिल्ला प्रहरीले कार्यालयमा आयोजित पत्रकार सम्मेलानमा गत भदौ २४ गते जिल्लाका विभिन्न ठाउँमा भएको तोडफोड, आगजनी र लुटपातमा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
‘आन्दोलनका क्रममा लिइएका फोटो, भिडियो र प्रत्यक्षदर्शीको सूचनामाथि अनुसन्धान गर्दै तोडफोड, आगजनी र लुटपातमा संलग्नको पहिचान गर्ने कार्य भइरहेको छ’–प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, ‘आगो लगाउने, तोडफोड गर्ने र लुटपातमा संलग्न एवम् उक्साउनेहरूको सूची तयार गरिहेका छौँ ।’
अनुसन्धान जारी रहेकाले यस विषयमा थप कुरा गोप्य राखिएको समेत उनले बताए । आन्दोलनका क्रममा चोरी गरिएका सामग्री फिर्ता ल्याउनेको तीनपुस्ते विवरण सङ्कलन गरेर छोड्ने योजना प्रहरीको छ । घटनामा संलग्नहरूको बारेमा सूचना दिन नागरिकलाई आग्रहसँगै प्रहरीले बिलविजक नभएका कुनै कम्प्युटर, ल्यापटव, प्रिन्टर, टेवल, कुुर्सी, डेक्स, टिभीलगायतका सामग्री खरिद नर्गन समेत व्यवसायी वा नागरिकलाई अनुरोध गरेको छ ।
चोरीका सामग्री बिक्री हुनसक्ने ठाउँहरूको सूक्ष्म रूपमा निगरानीसमेत भइरहेकाले खरिद बिक्री नगर्ने आग्रह गरिएको प्रहरी प्रमुख तिमिल्सिनाले बताए । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, ‘प्रहरीले सार्वजनिक रूपमा सूचना जारी गरेरसमेत घटनामा संलग्नबारे सूचना माग गरेको छ । फोटो, भिडियोसहितका सूचना र पीडितसँग उजुरीसमेत दिन माग गरेको छौँ ।’ तर जिल्लामा अहिलेसम्म कतैबाट उजुरी नपरेकाले कारबाहीको प्रक्रिया अघि बढाउनसमेत समस्या भएको उनको भनाइ छ ।
उनका अनुसार सुरक्षा निकायका सबै अङ्गहरू सूचना सङ्कलन र पहिचानमा जुटेका छन् । आन्दोलनका क्रममा दाङ जिल्ला प्रहरी कार्यालय मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र घोराहीको बसपार्कमा रहेको अस्थायी प्रहरी चौकीमा तोडफोडसँगै आगजनी भएको छ । त्यस क्रममा प्रहरीका गाडी तोडफोड र आगजनीसँगै तीन जना प्रहरीसमेत घाइते भएका छन् । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी चौकीको पुनःनिर्माणको काम भइरहेको भन्दै बुधवारदेखि ट्राफिक प्रहरीसमेत नियमित ड्युटीमा फर्किएको छ ।
यसैबिच प्रहरी उपरीक्षक तिमिल्सिनाले घोराही र तुलसीपुरमा तोडफोडपछि बेपत्ता पारिएको वीपी कोइरालाको शालिकको समेत खोजी भइरहेको बताए । ‘जेन–जी आन्दोलनका क्रममा तोडफोडपछि बेपत्ता पारिएको शालिकको प्रहरीले खोजी गरिरहेका छ’, प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, ‘जिल्लाका सबै प्रहरी युनिटलाई जानकारी गराई सूचना लिन भनेका छौँ ।’