Ad Area

दोस्रो अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनारको तयारी अन्तिम चरणमा, विदेशबाट पाहुना आउन सुरु


काठमाडौं, २० असोज । दोस्रो अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनार-२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल क्वानकिडो संघको आयोजनामा काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्रमा असोजको २३ र २४ गते हुने अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनारमा सहभागीताका लागि विभिन्न देशबाट पाउनाहरु आउन सुरु भएको छ ।

खेलकुद क्षेत्रको विकासका‌‌ लागी हुन थालेको सेमिनारमा सहभागीताका लागि वल्ड युनियन क्वानकिडो महासंघका अध्यक्ष ग्रान्ड मास्टर रोबेर्टो भिस्मारा इटालीबाट, सिनियर मास्तर बारबारा रिभा फ्रान्सबाट, सिनियर मास्टर पेरीएरी मार्सेलो जर्मनीबाट, सिनियर मास्टर टाओर्मिना एन्जेलो क्यानाडाबाट, सिनियर मास्टर लुइजी सान्तापागा स्पेनबाट, मास्टर साब्रिना चेर्भेलाती रोमानियाबाट, मास्टर भ्याक्कारो एन्जेला अस्ट्रियाबाट, मास्टर कैनेल्ली एलिसा पोर्चुगलबाट, मास्तर भिस्मारा एलियाना फिनल्याण्डबाट र मास्टर मियोरी म्यानुएल बेल्जियमबाट नेपाल आउनुभएको छ ।

नेपाल क्वानकिडो संघका संस्थापक अध्यक्ष तथा एसियन प्राविधिक निर्देशक भुवन बुढा मगरका सेमिनारमा खेलको बारेमा जानकारी, खेलको भविश्य, आत्मरक्षा (सेल्फ डिफेन्स) र रेफ्रीसहितका विभिन्न विधामा प्रशिक्षण दिने कार्यक्रम रहेकोे छ।

उहाँका अनुसार अन्तर्राष्ट्रियस्तरका अनुभवी प्रशिक्षकहरूको सहभागिताले नेपाली खेलाडी तथा प्रशिक्षार्थीलाई विश्वस्तरीय अनुभव प्राप्त गर्न मद्दत पुग्नेछ। सेमिनारले खेलकुदमा अन्तर्राष्ट्रिय आदान–प्रदानसंगै आर्थिक विकास तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।