दाङमा थपिए १३ सय बढी मतदाता
लीलाधर वली
दाङ, १८ कात्तिक । दाङमा करिब एक महिनाको अवधिमा एक हजार तीन सय बढी मतदाता थपिएका छन् । गत असोज १२ गतेदेखि दर्ता तथा अद्यावधिक सुरु भएको दाङमा कात्तिक १७ गते सोमवारसम्म एक हजार तीन सय चार जना नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।
जिल्लामा असोज १२ देखि कात्तिक १७ गतेसम्म आठ सय ३३ जना पुरुष र चार सय ७१ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिएका छन् । कार्यालयका सूचना अधिकारी कवँरका अनुसार यो अवधिमा जिल्लामा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा पाँच सय ५९ जना, तुलसीपुर उपमहानगरपालिकामा तीन सय ७५ जना, लमही नगरपालिकामा ७७ जना, राप्ती गाउँपालिकामा ५५ जना, गढवा गाउँपालिकामा ३९ जना, बंगलाचुली र शान्तिनगर गाउँपालिकामा २९÷२९ जना, दंगीशरण गाउँपालिकामा २७ जना, बबई गाउँपालिकामा १९ जना र राजपुर गाउँपालिकामा सात जना नयाँ मतदाता थपिएका छन् ।
यसैगरी यस अवधिमा एक सय ८३ जनाले नामसारी गरेका छन् भने ८६ जनाले मतदाता नामावलीमा रहेको त्रुटि सच्याएका छन् । कार्यालयका सूचना अधिकारी कवँरका अनुसार नयाँ मतदाता नामावली दर्ता गराउन थप एक हजार १२ जनाले अनलाइनबाट अग्रिम फारम भरेको तर बायोमेट्रिकका लागि कार्यालयमा अझै आई नपुगेको बताए । आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो मताधिकार प्राप्त गर्नका लागि अपेक्षा गरे अनुसार जिल्लामा मतदाता नामावली दर्ताका लागि नआएको सूचना अधिकारी कवँरले बताए । मतदाता नामावलीमा नयाँ नाम दर्ता र अद्यावधिकबारे जिल्लामा प्रचारप्रसार नहुँदा न्यून मात्रमा मतदाता नामावली सङ्कलन कार्य भइरहेको बताए ।
‘अघिल्लो निर्वाचनका क्रममा करिब ५० हजारको हाराहारीमा नयाँ मतदाता थपिएका थिए, त्यही हिसाबले यो पटक जिल्लामा २० हजासम्म नयाँ मतदाता थपिने अपेक्षा थियो’, सूचना अधिकारी कवँरले भने, ‘अहिले सङ्कलन भइरहेको सङ्ख्याले अपेक्षाको आधा पनि नयाँ मतदाता थपिने अवस्था देखिँदैन ।’ भौगोलिक रूपमा विकटतासँगै प्रचारप्रसारको कमीका कारण कतिपयले थाहा नपाएको हुनसक्ने उनले बताए । उनका अनुसार मतदाता नामावली दर्ता गराउने ९५ प्रतिशत युवा पुस्ता रहेका छन् । कात्तिक ३० गतेसम्म नयाँ दर्ता एवम् अद्यावधिक कार्य चल्ने कार्यालयले जनाएको छ । २०७९ सालको निर्वाचनमा जिल्लामा चार लाख १४ हजार नौ सय ५६ मतदाता सङ्ख्या रहेको थियो ।
