Ad Area

जेन्जी आन्दोलनको आगोमा निष्ठाको परीक्षा


भिमा डिसी

जेन्जी आन्दोलनका क्रममा केही अराजक व्यक्तिलेदाङस्थित नेकपा एमालेका महासचिव शंकर पोखरेलको घरमा आगजनी गरे । रिसको झोकमा दाङको बिकासका लागी निरन्तर लाग्दै आएका नेता, दाङसहित साबिकको राप्तीलाई राष्ट्रिय राजनीतिसंग जोड्ने बौद्धिक नेताको घरमा भएको आगजनीले दु:खी बनाउने काम गरेको छ ।

हुन् त, घरमा तोडफोड र आगजनी भएको दुई महिना समय बित्न लाग्यो तर जलेको घरको दृश्यले अहिले पनि दु:खी बनाउने गर्दछ । घर जल्नु केवल एउटा भौतिक संरचना नष्ट हुनु मात्रै होइन, त्यो दशकौँको परिश्रम र मिहिनेतले बनेको परिवारको भावनात्मक जग ढलेको प्रतीक हो। जुन कुरा महासचिव एवं आदरणीय नेताले सामाजिक संजाल मार्फत बताइसक्नुभएको छ ।

हो, आज तपाईं घर नहुँदा पनि दृढ मनोबलका साथ डेरातिर यात्रा गर्नुभएको सुन्दा जो कोहीको मन भावुक हुन्छ ।आर्थिक अनुशासन, मितव्ययिता र सरल जीवनशैलीका दृष्टिले तपाईं सधैं उदाहरणीय व्यक्तित्व रहनु भएको छ। तपाईंको निष्ठा, त्याग र आदर्शले हामी जस्ता कार्यकर्ताहरूलाई मात्र होइन, सम्पूर्ण समाजलाई प्रेरणा दिएको छ। तर विडम्बना के छ भने, तपाईं जस्ता इमानदार, निष्ठावान र निस्वार्थ नेताहरूलाई कहिलेकाहीँ आफ्नै समाजले नचिन्ने गल्ती गर्छ। यही कारणले अहिले पार्टीको भविष्य र कार्यकर्ताहरूको अटूट विश्वास तपाईंमाथि केन्द्रित भएको स्पष्ट देखिन्छ।

आजको समाजमा सत्य भन्दा झूट छिटो फैलिन्छ, इमानदार भन्दा लोभी र अवसरवादीहरूलाई बढी महिमामण्डन गरिन्छ। सकारात्मक कुरा बुझाउन गाह्रो हुन्छ, तर नकारात्मक र मिथ्या प्रचार सहजै पत्याइन्छ। यिनै प्रवृत्तिहरूले आजका असल नेताहरूलाई कठिन परीक्षामा उभ्याइरहेका छन्। मिथ्या समाचार र भ्रमको जालमा फस्नेहरू कहिले गजेडीलाई, कहिले ठगलाई ‘हिरो’ ठान्छन्, तर असल पात्रहरूलाई बेवास्ता गर्छन्। यद्यपि सत्य अन्ततः विजयी हुन्छ — त्यसका लागि धैर्य र समय चाहिन्छ।

जेन्जी आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनाले राज्यका सम्पत्ति मात्र होइन, आमनागरिकको विश्वास पनि जलाएको छ। घरहरू जले, व्यापारी प्रतिष्ठानहरू ध्वस्त भए, प्रहरी चौकीहरू नष्ट भए, र विकासका सपना खरानी बने। यस्तो आन्दोलनले जनताको समस्या होइन, घाउलाई अझ गहिरो बनाउँछ। त्यो आन्दोलनले न्याय होइन, पीडा र भ्रमको सन्देश फैलायो।

तर तपाईंको दृढता र संयमित नेतृत्वले हामी सबैलाई एक नयाँ बाटो देखाएको छ। घर जल्यो, सम्पत्ति नष्ट भयो, तर तपाईंको आस्था, निष्ठा र देशप्रतिको समर्पण जल्न सकेन। तपाईंले जुन शालीनताको साथ अन्याय सहनुभयो, त्यो नै एक सच्चा नेता र योद्धाको पहिचान हो।

आज तपाईंको यो पीडा सम्पूर्ण कार्यकर्ताको साझा पीडा बनेको छ। हामीले बुझेका छौं—यो केवल व्यक्तिगत क्षति होइन, एक विचार र मूल्यको परीक्षा हो। र हामी त्यो परीक्षामा सफल हुने दृढ विश्वास राख्छौं। सत्य, न्याय र परिवर्तनको बाटो कहिल्यै सजिलो हुँदैन, तर त्यही कठिन बाटोले इतिहास रच्नेहरू जन्माउँछ।

 

महासचिव कमरेडले व्यहोरेको यो अग्निपरीक्षा केवल राजनीतिक संघर्ष होइन—यो आत्मिक जागरणको यात्रा हो। घर ढले पनि, आस्था र विश्वास ढलेका छैनन्। यो आगोले विनाश मात्र होइन, पुनर्जन्मको बाटो पनि तयार गरेको छ।

(लेखक अनेरास्ववियुुका पूर्व केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज हुन )