इन्टर स्कुल डिआइजिपी फुटबल : पुलिस र मावि रामपुर क्वाटरफाइनल प्रवेश
दाङ,२४ कात्तिक । घोराहीमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरीय इन्टर स्कुल डिआइजिपी फुटबल रनिङ शिल्ड प्रतियोगितामा नेपाल पुलिस स्कुल ‘रेड’ र मावि रामपुर क्वाटरफाइनल प्रवेश गर्दा बालविकास सेकेन्डरी स्कुल सेमीफाइनल प्रवेश गरेको छ ।
घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत नेपाल पुलिस स्कुलको खेल मैदानमा सोमवार भएको पहिलो खेलमा गोरक्षरत्ननाथ सेकेन्डरी स्कुल चौघेरालाई ५–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुल ‘रेड’ समूह क्वाटरफाइनल प्रवेश गरेको हो । उक्त खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने नेपाल पुलिस स्कुलका विद्यार्थी खेलाडी जीवन बुढाथोकी म्यान अफ द म्याच बन्न सफल भएका थिए ।
त्यसैगरी दोस्रो खेलमा माध्यामिक विद्यालय रामपुर बिजयी भएको छ । माध्यामिक विद्यालय रामपुरले गोरखा लमही स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । उक्त खेलमा म्यान अफ द म्याच मावि रामपुरका आयुष सुनार बनेका थिए । सोमवारको अन्तिम खेलमा लक्ष्य एकेडेमीलाई पराजित गर्दै बालविकास सेकेन्डरी स्कुल घोराही सेमीफाइनल प्रवेश गरेको छ ।
लक्ष्य एकेडेमीलाई सून्यका विरुद्ध ८ गोल गर्दै बालविकास सेकेन्डरी स्कुल सेमीफाइनल पुग्न सफल भएको हो । उक्त खेलमा बालविकासका विकास सुनार म्यान अफ द म्याच बन्न सफल भएका थिए । विद्यालयस्तरमा खेलकुद क्षेत्रको विकाससँगै प्रतिभावन खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका २३ विद्यालयका २४ टिमको सहभागिता रहेको छ । कात्तिक २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमेले नगद ८० हजार र उपबिजेता टिमले ४० हजार रुपैयासहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
