छैठौं बंगलाचुली कप मंसिर ७ देखि हुने
हिमाल महरा
दाङ,२५ कात्तिक । दाङको बंगलाचुली गाउँपालिका पछिल्लो समय खेलकुदमय बनेको छ । पछिल्ला वर्षहरूमा खेलकुदको क्षेत्रमा तीव्र प्रगति गरिरहेको बंगलाचुली गाउँपालिका फेरि एकपटक खेल उत्साह मनाउने तयारीमा रहेको छ ।
बंगलाचुली गाउँपालिकाले छैठौं बंगलाचुली कप खेलकुद प्रतियोगिता आगामी मंसिर ७ र ८ गते दुई दिनसम्म सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत ओम प्रकाश केसीले सोमबार सूचना जारी गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएका छन् । प्रतियोगिता गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने छ । गढीलेख खेल मैदानमा आयोजना हुने प्रतियोगितामा पालिकाभित्रका आठवटै वडाका टिमहरू सहभागी हुनेछन् ।
विविध खेलमा प्रतिस्पर्धा
दुई दिने प्रतियोगितामा पुरुष तथा महिला भलिबल र पुरुष क्रिकेट प्रतियोगिता हुने छन् । प्रत्येक वडाबाट हरेक विधामा एक टिम मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ । सहभागी टोलीले मंसिर ४ गते दिउँसो १ बजेभित्र समूह दर्ता गरिसक्नुपर्नेछ भने मंसिर ५ गते टाईसिट प्रकाशन गरिनेछ ।
प्रतियोगितामा भलिबलतर्फ प्रथम, द्वितीय, तृतीय हुने खेलाडीहरुले क्रमशः २६ हजार, १६ हजार र नौ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै क्रिकेटतर्फ विजेता र उपविजेता हुने टिमले क्रमशः ३० हजार र १८ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
खेलाडी उत्पादन र विकासमा जोड
बंगलाचुली गाउँपालिकाले यस्ता प्रतियोगिताबाट नयाँ प्रतिभा पहिचान र खेलकुदको विकास हुने विश्वास व्यक्त गरेको छ । पालिकाले हरेक वर्ष खेल क्षेत्रका लागि नियत बजेट छुट्याउँदै आएको छ ।
बंगलाचुली गाउँपालिका–४ का अध्यक्ष एंव प्रतियोगिता आयोजक समितिका संयोजक डाँसबहादुर डाँंगीका अनुसार ‘खेलकुदले युवामा अनुशासन, स्वास्थ्य र एकता बढाउँछ’ र बंगलाचुलीलाई खेलमैत्री गाउँपालिकाका रूपमा अघि बढाउने लक्ष्य लिएको बताए ।
