बाल दिवसमा विद्यार्थीद्वारा प्रतिभा प्रदर्शन
अदिति केसी
घोराही, ४ मङ्सिर । विश्व बाल दिवसको अवसरमा घोराही–१६ सर्रा स्थित ज्ञानमाला एकेडेमीमा बाल प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । सिर्जनशील बाल क्लबको आयोजना तथा रिडर्स क्लब, किशोरी क्लब र जुनियर रेडक्रस सर्कलको सहआयोजनामा भएको प्रतिभा प्रदर्शन कार्यक्रममा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
सिर्जनशील बाल क्लबकी अध्यक्ष अदिति केसीको अध्यक्षता तथा घोराही–१६ का वडा अध्यक्ष ताराबहादुर डाँगी प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डाँगीले विद्यालयमा पढाईसँगै बालबालिकाको अतिरिक्त कला प्रस्तुत गर्नका लागि हुने कार्यक्रमले प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । साथै उनले आगामी दिनमा समेत अतिरिक्त प्रतिभा प्रस्तुत गर्ने कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

कार्यक्रममा एकेडेमीमा अध्ययनरत विद्यार्थीले बालश्रमका समस्या र समाधानका बारेमा तयार गरेको सन्देश मुलक नाटक ‘सपनाको यात्रा’ शीर्षकको नाटक समेत प्रस्तुत गरेका थिए । रिडर्स क्लबका अध्यक्ष सनिश केसी, जुनियर रेडक्रस सर्कलकी अध्यक्ष स्मारिका चौधरी, सिर्जनशील बाल क्लबका उप–सचिव राहुल चौधरी, विद्यालय कप्तान प्रणित रिजाल, उप–कप्तान अस्मिता चौधरी, चेतना आचार्य, शिक्षा बिक, अबिन चौधरी र सबिना चौधरीले बालअधिकार कार्यान्वयन तथा प्रतिभा विकासमा जोड दिएका थिए ।
कार्यक्रममा एन्जल आचार्य, मञ्जिशा ओली, बचन घर्ति र झरना बोहोराले कविता प्रस्तुति गरेका थिए भने कृतिका केसी, रिहान श्रेष्ठ र श्रिया पुनले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य, कला, चित्रकला तथा पेन्टिङसमेत प्रस्तुत गरेका थिए । सिर्जनशील बाल क्लबका उपाध्यक्ष एन्जल भुसालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सिर्जनशील बाल क्लबकी सचिव सुदिक्षा ओलीले गरेकी थिइन ।
