Ad Area

बर्दियामा संयुक्त अनुगमन तथा मूल्याङ्कन भ्रमण


बर्दिया, ३ पुस । बर्दियामा राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) ले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब (BUC) तथा बि–ग्रुप (BEE-Group) सँग सहकार्य गर्दै बर्दिया जिल्लाका मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा संयुक्त अनुगमन तथा मूल्याङ्कन भ्रमण गरेको छ।

अनुगमन तथा मूल्याङ्कन भ्रमणको उद्देश्य सञ्चालनमा रहेका कार्यक्रम तथा गतिविधिहरूको गुणस्तर र प्रभावकारिताको मूल्याङ्कन गर्नु, लाभग्राहीहरूको सन्तुष्टि बुझ्नु तथा स्रोत–साधनको प्रभावकारी उपयोगको अवस्था अवलोकन गरेको हो। भ्रमणका क्रममा मधुवन नगरपालिका स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरूका लागि उपलब्ध गराइएका नेपाली सांकेतिक भाषा सम्बन्धी सामग्रीको अनुगमन गरिएको थियो।

त्यसैगरी ठाकुरबाबा नगरपालिका–बगनाहा स्थित श्री चुरे माध्यमिक विद्यालयमा उपलब्ध गराइएका विज्ञान प्रयोगशाला सामग्रीको अवस्थाबारे पनि अनुगमन तथा मूल्याङ्कन गरिएको थियो। सो अवसरमा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकसँग अन्तरक्रिया गरिएको थियो। साथै उद्यमशीलता विकास अन्तर्गत सहयोग प्राप्त स्थानीय पसल तथा कुखुरा पालन व्यवसायको समेत अनुगमन गरिएको थियो।

उक्त अनुगमन तथा मूल्याङ्कन भ्रमण RKJS का परियोजना संयोजक श्री मनोज पौडेलको सहजीकरणमा सम्पन्न भएको हो। कार्यक्रम जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिष्टको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख अनिता यादव, समिति सदस्य रामबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सूर्यबहादुर खत्री, स्वास्थ्य कार्यालयकी अधिकृत सुश्री पद्मा कुमारी श्रेष्ठ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर विशाल श्रेष्ठ तथा ठाकुरबाबा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर बिष्टले अपाङ्गता भएका विद्यार्थीहरूका लागि उपलब्ध गराइएका सहयोग सामग्री तथा विज्ञान प्रयोगशाला सामग्रीको प्रशंसा गर्दै ती सामग्रीको उचित उपयोग भई प्रतिफलमुखी नतिजा देखिनुपर्नेमा जोड दिए। साथै उनले सबै संघ–संस्थाहरूले कार्यक्रमको सुरुदेखि लेखापरीक्षणसम्म स्थानीय सरकारसँग समन्वय गर्दै जिम्मेवार ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

अनुगमन तथा मूल्याङ्कन भ्रमणमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्मा, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष श्री दिनेशप्रसाद श्रेष्ठ, बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत राधेकृष्ण थारु, RKJS का अनुगमन तथा मूल्याङ्कन अधिकृत धिरज चौधरी, बाँके युनेस्को क्लबकी अनुगमन तथा मूल्याङ्कन अधिकृत अनु चौधरी, बि–ग्रुपका प्राविधिक संयोजक जयलाल विके, स्थानीय सञ्चारकर्मी तथा फिल्ड सुपरभाइजर मिनु थारुको उपस्थिति रहेको थियो।

RKJS ले चुरे माबिलाई प्रदान गरेको ५ लाख ८१ हजार ७३८ रुपैया ३९ पैसा मुल्य बराबरको बिज्ञान प्रयोगशाला सोही अनुगमनको क्रममा जिल्ला समन्वय समिति प्रमुख र संस्थाका अध्यक्षले बिद्यालयलाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो।