फ्रेन्ज फुटबल एकेडेमी सिङ्गापुर र लुम्बिनी फुटबल एकेडेमीबीच सम्झौता
दाङ, ५ पुस । सिङ्गापुरस्थित फ्रेन्ज इन्टरनेशनल फुटबल एकेडेमी र दाङको लुम्बिनी फुटबल एकेडेमीबीच ग्रासरुट फुटबल विकासका लागि ऐतिहासिक सम्झौता भएको छ । काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेस होटलमा आयोजित कार्यक्रममा शनिबार दुई संस्थाबीच सम्झौतामा हस्ताक्षर गरिएको हो ।
लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समीर ओली र फ्रेन्ज इन्टरनेशनल फुटबल एकेडेमीकी कम्पनी निर्देशक अस्मिता गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा फ्रेन्ज एकेडेमीका मालिक तथा सिङ्गापुर नागरिक डेल्भिन एस्पिको पनि उपस्थिति रहेको थियो । समीर ओलीको व्यक्तिगत लगानीमा २०८० सालदेखि दाङको घोराहीमा आफ्नै खेल मैदान तथा आवासीय सुविधासहित लुम्बिनी फुटबल एकेडेमी सञ्चालनमा रहेको छ । हाल एकेडेमीमा २९ जना खेलाडी आवासीय रूपमा प्रशिक्षणरत छन् । साथै, ६ जना विपन्न तथा दलित समुदायका खेलाडीहरूको पालनपोषणदेखि शिक्षासम्मको सम्पूर्ण खर्च एकेडेमीले व्यहोर्दै आएको छ ।
फ्रेन्ज इन्टरनेशनल फुटबल एकेडेमी सन् २०१२ देखि सिङ्गापुरमा स्थापना भई मलेसिया, इन्डोनेसियालगायतका देशमा सक्रिय रहँदै आएको छ । क्लबले विभिन्न डिभिजन लिगहरूमा प्रतिस्पर्धा गर्दैछ भने सिङ्गापुरका पूर्व राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जिता सिंह क्लबका संरक्षकका रूपमा रहेका छन् । सम्झौतापछि अब लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्ज इन्टरनेशनल फुटबल एकेडेमी संयुक्त रूपमा लुम्बिनी फ्रेन्ज फुटबल क्लबका रूपमा नेपाली फुटबल क्षेत्रमा प्रतिनिधित्व गर्नेछन् ।
सम्झौताअनुसार फ्रेन्ज इन्टरनेशनल फुटबल एकेडेमीले लुम्बिनी फुटबल एकेडेमीलाई आर्थिक, प्राविधिक तथा व्यावसायिक सहयोग प्रदान गर्नेछ । पहिलो चरणमा दाङको घोराहीस्थित एकेडेमीको भौतिक पूर्वाधार स्तरोन्नति गरी त्यसलाई केन्द्रीय कार्यालयका रूपमा स्थापना गरिनेछ । यसका लागि सिङ्गापुरबाट आवश्यक उपकरण उपलब्ध गराइनेछ । फ्रेन्ज एकेडेमीका मालिक डेल्भिन एस्पि स्वयं एआई सफ्टवेयर कम्पनी ‘सिक्स्थ सेन्स’का पूर्व प्रबन्धक रहेकाले उक्त प्रविधिमार्फत खेलाडीको प्रदर्शनको निगरानी, तथ्यांक विश्लेषण र समग्र विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
सिङ्गापुर र नेपाली फुटबलबीच भएको यो सम्झौताले दुई देशबीचको पारस्परिक सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ । पछिल्लो समय नेपाली फुटबलमा देखिएको नकारात्मक अवस्थाबीच यस सम्झौताले विदेशी लगानीकर्तालाई नेपालमा फुटबल क्षेत्रमा लगानी गर्न सकिने सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ । लुम्बिनी फ्रेन्ज फुटबल क्लबले नेपालको विद्यमान फुटबल संरचनाभित्र रहेर घरेलु प्रतियोगितादेखि राष्ट्रिय लिगसम्म सहभागिता जनाउने ल क्ष्य राखेको छ ।
सम्झौतापछिको पहिलो कदमस्वरूप क्लबले नेपालको मोफसल फुटबलका सर्वाधिक लोकप्रिय प्रतियोगितामध्ये एकमा सहभागिता जनाउनेछ । सो प्रतियोगितामा सिङ्गापुर राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक जिता सिंहको प्रशिक्षणमा सिङ्गापुरका राष्ट्रियस्तरका खेलाडीहरू समेत सहभागी हुने जनाइएको छ ।
