गुरुकुल दाङ अन्तरविद्यालय क्रिकेट सिजन–२ : माउन्टभ्यू र पुरन्धारा एभरेस्ट विजयी
दाङ, ५ पुस । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु भएको गुरुकुल दाङ जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ को पहिलो दिन माउन्टभ्यु स्कुल घोराही र पुरन्धारा एभरेस्ट एकेडेमी विजयी भएका छन् ।

घोराही–१७ स्थित गुलरिया क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा टस हारेर पहिला ब्याटिङ गरेको माउन्टभ्यु स्कुलले निर्धारित २० ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १२८ रन बनायो । माउन्टभ्युका लागि विवेक केसी २३ रन बनाए भने राजकुमार रोका र प्रबिन पौडेलले समान १४–१४ रन तथा बामदेव न्यौपानेले १३ रन जोडेका थिए । बलिङतर्फ दिपशिखा स्कुलका अर्पित आचार्यले ४ ओभरमा १४ रन खर्चेर उत्कृष्ट ६ विकेट लिए भने सोयापार श्रेष्ठले २ विकेट लिए ।
१२९ रनको लक्ष्य पछ्याएको दिपशिखा स्कुलले २० ओभर पूरा खेल्दै ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । दिपशिखाका लागि दिक्षण न्यौपानेले २८ रन, अर्पित आचार्यले २६ रन र गोविन्द लम्सालले २१ रन बनाए । बलिङमा माउन्टभ्युका बिपल विकले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । रोमाञ्चक बनेको खेलमा माउन्टभ्यु स्कुलले दिपशिखालाई ५ रनले पराजित गरेको थियो । यद्यपि ६ विकेट र २६ रन बनाएका दिपशिखाका अर्पित आचार्य खेलको प्लेयर अफ द म्याच घोषित भए ।

त्यसैगरी दोस्रो खेलमा पुरन्धारा एभरेस्ट एकेडेमीले रोजी बड्सलाई १६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पुरन्धाराले २० ओभर पूरा खेल्दै ४ विकेट गुमाएर १२६ रन बनायो । पुरन्धाराका लागि मनोज केसीले ३४ रन, प्रिन्स थापाले १९ रन र विश्वास केसीले १८ रन बनाए । बलिङमा रोजिका समिरबाबु यादवले २ विकेट लिए भने प्रज्वल देवकोटा र शिवम अधिकारीले १–१ विकेट लिए ।
१२७ रनको लक्ष्य पछ्याएको रोजि बड्सले २० ओभर खेल्दै ९ विकेट गुमाएर ११० रनमा समेटियो । रोजीका लागि सुलभ श्रेष्ठले २१ रन, सुशान्त श्रेष्ठले १७ रन र निरज रसाइलीले ११ रन बनाए । बलिङतर्फ पुरन्धाराका निर्मल वलीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने तेजबहादुर केसी र सरगम भारतीले समान २–२ विकेट लिए । यस खेलको प्लेयर अफ द म्याच निर्मल वली घोषित भए ।
