Ad Area

१३ किशोरी क्लबलाई खेलकुद सामग्री वितरण


मनोज पौडेल

बर्दिया, ६ पुस । राधाकृष्ण थारु जनसेवा केन्द्र द्वारा सञ्चालनमा रहेको सशक्त बालिका परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत २ लाख १३ हजार ८ सय ८६ रुपैयाँ ४० पैसाबराबरका विभिन्न खेलकुद सामग्री बर्दिया जिल्लाका बारबर्दिया, ठाकुरबाबा, राजापुर र गेरुवा नगरपालिकामा क्रियाशील १३ वटा किशोरी क्लबहरूलाई वितरण गरिएको हो। किशोरीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको महत्व प्रवर्द्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको छ। खेलकुद गतिविधिमार्फत किशोरीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, समूहमा काम गर्ने सीप तथा सकारात्मक प्रतिस्पर्धाको भावना विकास हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी किशोरी क्लबका प्रतिनिधिहरूले प्राप्त सामग्रीले क्लबस्तरीय गतिविधिहरू प्रभावकारी हुने र किशोरीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गरेका छन्। साथै, खेलकुद समुदायस्तरमा किशोरीका हक, अधिकार र क्षमताको पहिचान गराउने प्रभावकारी माध्यम हुने धारणा व्यक्त गरिएको छ।

राधाकृष्ण थारु जनसेवा केन्द्रले किशोरी सशक्तीकरण, लैङ्गिक समानता तथा समग्र बाल विकासका क्षेत्रमा निरन्तर रूपमा काम गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले स्वस्थ, सक्षम र आत्मविश्वासी किशोरी पुस्ता निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ।