Ad Area

मार्क कलेजमा खेलकुद सप्ताह सुरु


दाङ,६ पुस । दाङको घोराहीमा रहेको मार्क इन्टरनेसनल कलेजमा आइतबारदेखि खेलकुद सप्ताह सुरु भएको छ।

विद्यार्थीहरूलाई खेलकुदप्रति जागरुक बनाउने र उनीहरूमा निहित क्षमतालाई उजागर गर्ने उद्देश्यले कलेजको वार्षिक कार्यक्रमअन्तर्गत खेलकुद सप्ताह आयोजना गरिएको कलेजका प्रमुख लालमणी बसेलले जानकारी दिएका छन् ।

खेलकुद सप्ताहअन्तर्गत हाजिरजवाफ, चेस, कबड्डी, ब्याडमिन्टन, फुटबल, भलिबल, क्रिकेट, फुटसल, तातो आलु, डोरी तान्ने प्रतियोगिता लगायतका विभिन्न खेलहरू समावेश गरिएका छन्। प्रतियोगितामा विद्यार्थीहरूले कक्षागत समूह बनाएर सहभागिता जनाएका छन्। खेलकुद सप्ताह आगामी शनिबारसम्म सञ्चालन हुने जनाइएको छ।

खेलकुद सप्ताहको आइतबार एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो। कलेज प्रमुख लालमणी बसेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलेजका को–अर्डिनेटर प्राध्यापक कृष्णबहादुर केसी, रिसर्च को–अर्डिनेटर प्राध्यापक नौलाबहादुर खड्का, पूर्व कलेज प्रमुख बामदेव लामिछाने, परीक्षा को–अर्डिनेटर सन्दीप न्यौपाने तथा प्राध्यापकहरू यज्ञ केसी, कुमारराज श्रेष्ठ, निर्मल गौतम, श्यामकुमार आचार्य, कमल रेग्मी, सुरज गुप्ता, नवीनकुमार गौतम लगायतले मन्तव्य राख्दै खेलकुद सप्ताहले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको अतिरिक्त क्षमता विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

यसैबीच खेलकुद सप्ताहको पहिलो दिन आइतबार हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको सञ्चालन प्राध्यापक यज्ञ केसीले गरेका थिए। बीबीएस र एमबीएस कार्यक्रम सञ्चालन गर्दै आएको मार्क इन्टरनेसनल कलेज दाङकै पुरानो तथा लोकप्रिय कलेजका रूपमा स्थापित हुँदै आएको छ।