Ad Area

तेक्वान्दो प्रशिक्षक सुनितालाई सर्वोत्कृष्ट युवा पुरस्कार


दाङ, ७ पुस । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सुनिता विष्ट नेपाल जेसीजको सर्वोत्कृष्ट राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित भएकी छिन् । मधेस प्रदेशको जनकपुरमा शनिवार सम्पन्न नेपाल जेसीजको ५२औँ महाधिवेशनमा विष्ट सर्वोत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएकी हुन् ।

त्रिभुवननगर जेसीज घोराहीको प्रस्तावमा दाङकी विष्टलाई खेलकुदमार्फत् राष्ट्रको पहिचान स्थापित गर्न, युवाहरूलाई प्रेरित गर्न र अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गरेको योगदानको मूल्याङ्कनका आधारमा यो पुरस्कार प्रदान गरिएको हो । घोराही उपमहानगरपालिका–१४ स्थित अल्फा तेक्वान्दो डोजाङकी प्रमुख एवम् प्रशिक्षक रहेकी विष्ट तेक्वान्दो खेलाडीका साथै अन्तर्राष्ट्रिय रेफ्रीका रूपमा परिचित छिन् ।

१४ वर्षको कलियो उमेरदेखि तेक्वान्दो खेल खेल्न थालेकी विष्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै नेपालका लागि पदक जित्दै आएकी छिन् । रोल्पाको दुर्गम गुमचालमा २०५६ सालमा बुबा जङ्गे विष्ट र आमा ज्ञानुको कोखबाट जन्मिएकी विष्ट हक्की एवम् निडर खेलाडीका रूपमा परिचित छिन् । हाल घोराही उपमहानगरपालिका–१७ मा स्थायी बसोवास गर्दै आएकी विष्टले महिलाले पनि खेलकुदका माध्यमबाट नेपाली खेलकुद क्षेत्रको प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरणीय खेलाडीको पहिचान बनाएकी छिन् ।

२०७५ सालमा तेक्वान्दोको राष्ट्रिय रेफ्री बन्न सफल भएकी विष्टले सन् २०२४ मा काजिकिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय निर्णायक कोर्स सफलतापूर्वक उत्तीर्ण गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालकी कान्छी अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएकी छन् । सन् २०२४ मै थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी विष्टले सन् २०२३ मा दक्षिण कोरियामा सम्पन्न ग्लोबल मास्टर ट्रेनिङका लागि नेपालबाट पूर्ण छात्रवृत्तिमा छनोट भएर तालिम लिएकी थिइन् ।

नेपालका विभिन्न ठाउँसँगै भारत, युएई, कोरिया, काजिकिस्तान र थाइल्यान्डमा सहभागी भएर नेपालको झण्डा अन्तर्राष्ट्रिय समुदायमा फहराउन सफल भएकी छिन् । त्रिभुवननगर जेसीजबाट वर्ष युवा पुरस्कारबाट सम्मानित भइसकेकी विष्ट घोराही उपमहानगरपालिकाबाट दुई पटक वर्ष खेलाडीको रूपमा समेत सम्मानित भइसकेकी छिन् ।