Ad Area

इन्टर कलेज टी–२० क्रिकेटको उपाधि स्नातक दोस्रो वर्षलाई


लक्ष्मण बस्नेत
तुलसीपुर,९ पुस । ज्ञानज्योती इन्टर कलेज टी–२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधि ज्ञानज्योती स्नातक दोस्रो वर्ष टिमले जितेको छ।ज्ञानज्योती फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान गोलौरामा बुधबार सम्पन्न फाइनल खेलमा स्नातक दोस्रो वर्ष टिमले ज्ञानज्योती विज्ञान संकाय ‘ए’ टिमलाई २८ रनले पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै स्नातक दोस्रो वर्ष टिमले नगद १५ हजार रुपैयाँ र विजेता ट्रफी प्राप्त गरेको छ। फाइनलमा पराजित विज्ञान संकाय ‘ए’ टिमले नगद १० हजार रुपैयाँसहित उपविजेता ट्रफीमा चित्त बुझाएको छ।

टस जितेर ब्याटिङ रोजेको स्नातक दोस्रो वर्ष टिमले १५ ओभरमा १०४ रन बनायो। टिमका लागि विजय डागीले सर्वाधिक ३१ रन बनाए भने निराजले १५ रन जोड्न सफल भए। बलिङतर्फ विज्ञान संकाय ‘ए’ का सागर रिजालले ४ विकेट लिए। प्रतिउत्तरमा १०५ रनको लक्ष्य पछ्याएको विज्ञान संकाय ‘ए’ टिम १३.४ ओभरमै अलआउट हुँदै ७६ रनमा सीमित रह्यो। टिमका एक ब्याट्सम्यानले ब्याक–टु–ब्याक चार छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन जोडे पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्।

फाइनल खेलको म्यान अफ द फाइनल स्नातक दोस्रो वर्षका सागर रिजाल घोषित भए। प्रतियोगिता अवधिभर अम्पायरको भूमिकामा सुदीप नेपाली, गोपाल केसी, विपिन बस्नेत र निश्चल लामिछाने रहेका थिए । प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह ज्ञानज्योती कलेजका भाइस प्रिन्सिपल मनोज केसीको अध्यक्षता तथा युवा सञ्जाल दाङका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’को प्रमुख आतिथ्यमा एवं दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतको विशिष्टआथित्यतामा भएको थियो ।

कार्यक्रममा ज्ञानज्योती कलेजका एकेडेमिक कोअर्डिनेटर शरद गौतम, आदर्श एकेडेमीका प्रिन्सिपल वसन्त टन्डन लगायतको उपस्थिति थियो। तसअवसरमा विजेता तथा उपविजेता टिमसँगै व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने प्लेयर अफ द टुर्नामेन्ट विजय डागी, बेस्ट ब्याट्सम्यान गोपाल केसी र बेस्ट बलर सागर रिजाललाई ट्रफी, मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुस ३ गतेदेखि सुरु भएको प्रतियोगितामा फाउन्डेसनका ९ टिमको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन ज्ञानज्योती कलेजका सन्तोष केसीले गरेका थिए।