गुरुकुल दाङ अन्तरविद्यालय क्रिकेट सिजन–२ : माउन्टभ्यु र पुरन्धारा एभरेष्ट विजयी
विकास भट्टराई
दाङ,९ पुस । गुरुकुल दाङ जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ को पाँचौँ दिन माउन्टभ्यु स्कुल घोराही र पुरन्धारा एभरेष्ट एकेडेमी विजयी भएका छन् ।
दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही–१७ स्थित घोराही क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत बुधवार भएको पहिलो खेलमा माउन्टभ्यु स्कुल घोराहीले पर्ल एकेडेमी घोराहीलाई ९९ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको माउन्टभ्युले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७३ रन बनायो । माउन्टभ्युका लागि प्रविन पौडेलले सर्वाधिक ६२ रन बनाए ।
उनले ५१ बलमा ७ चौका प्रहार गरेका थिए । त्यसैगरी बिपल विकले ३७ रन र सुशान पौडेलले २९ रन जोड्न सफल भएका थिए । बलिङतर्फ पर्ल एकेडेमीका मनिष पौडेलले २ विकेट लिए भने साजन वली, आरोन तिवारी र मोहम्मद नाजले १–१ विकेट लिएका थिए । १७४ रनको लक्ष्य पछ्याएको पर्ल एकेडेमी १६.१ ओभरमै अलआउट हुँदै ७४ रनमा समेटिएको थियो । पर्लका लागि मोहम्मद नाजले २९ रन र कुशल बुढाले १० रन बनाए । बलिङतर्फ माउन्टभ्युका हिमाल विश्वकर्माले ३ विकेट, सुशान पौडेल र गनबहादुर डाँगीले २–२ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच ब्याटिङतर्फ ६२ रन बनाउँदै प्रतियोगिताकै पहिलो अर्धशतक पूरा गर्ने प्रविन पौडेल घोषित भए । उनलाई लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले नगद ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरेका थिए । बुधवार भएको दोश्रो खेलमा पुरन्धारा एभरेष्ट एकेडेमी पुरन्धाराले पद्मोदय स्कुल घोराहीलाई ७५ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पुरन्धाराले १७.१ ओभरमै अलआउट हुँदै १३६ रन बनाएको थियो। पुरन्धाराका लागि मनोज केसीले ३१ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ६३ रन बनाए। त्यसैगरी पुरन केसीले १७ रन र अनुप डाँगीले ११ रन जोड्न सफल भए । बलिङतर्फ पद्मोदयका प्रकाश रोकायाले ४ विकेट लिए भने नवीन वली र शिशिर डाँगीले २–२ विकेट लिए । १३७ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको पद्मोदय स्कुल १३.१ ओभरमै अलआउट हुँदै ६१ रनमा समेटिएको थियो ।
पद्मोदयका लागि प्रेम केसीले सर्वाधिक १४ रन र गगन पुन मगरले १२ रन बनाए। बलिङतर्फ पुरन्धाराका तेजबहादुर केसीले ३ विकेट, अनुप डाँगी र मनोज केसीले २–२ विकेट लिएका थिए ।खेलको प्लेयर अफ द म्याच ब्याटिङमा ६३ रन बनाउँदै प्रतियोगिताको दोस्रो अर्धशतक पूरा गर्नुका साथै बलिङमा २ विकेट लिने मनोज केसी घोषित भए । उनलाई दाङ जिल्लाका पूर्व खेलाडी तथा जिल्ला प्राविधिक टोली सदस्य सुरेन्द्र विष्टले नगद ५ सय रुपैयाँसहित ट्रफी प्रदान ग्ेका थिए ।
प्रतियोगिताको लिग चरण अन्तर्गत पुस १० गते अन्तिम खेलहरू हुनेछन् । बिहान १० बजे ग्रेट अरणिको स्कुल तुलसीपुर र गोरखा इन्टरनेशनल स्कुल घोराही तथा दिउँसो १ बजे हिमाल एकेडेमी तुलसीपुर र मेचीकाली आवासीय स्कुल घोराहीबीच खेल हुने तालिका रहेको छ ।
