Ad Area

राष्ट्रपति रनिङ शिल्डमा गोर्खाको ह्याट्रिक


प्रिया स्मृति गजमेर
लमही,१२ पुस । लमही नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा मोडेल सेकेन्डरी स्कुल, लमहीले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक पूरा गरेको छ ।

लमही नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै गोरखा मोडेल सेकेन्डरी स्कुलले अन्य विद्यालयलाई पछि पार्दै राष्ट्रपति रनिङ शिल्ड आफ्नो पोल्टामा पारेको हो । विद्यालयको यो निरन्तर सफलतालाई विद्यार्थीहरूको मेहनत, प्रशिक्षकहरूको प्रभावकारी प्रशिक्षण र विद्यालय प्रशासनको सक्रियतासँग जोडिएको छ ।

प्रतियोगितामा गोरखा मोडेल सेकेन्डरी स्कुलले १८ स्वर्ण, ६ रजत र २ कास्य गरी कुल २६ पदक जित्दै नगर प्रथम स्थान हासिल गरेको छ । आदर्श माध्यमिक विद्यालय देउपुरले ४ स्वर्ण, ६ रजत र ९ कास्यसहित कुल १९ पदक प्राप्त गर्दै नगर द्वितीय स्थान हासिल गरेको छ । यसैगरी माध्यमिक विद्यालय फल्कापुरले ३ स्वर्ण, ७ रजत र ६ कास्यसहित नगर तृतीय स्थानमा चित्त बुझाएको छ भने रोजी बड्स माध्यमिक विद्यालय कोलहीले २ स्वर्ण, ७ रजत र ६ कास्यसहित नगर चतुर्थ स्थान हासिल गरेको छ ।

ज्ञानज्योति माध्यमिक विद्यालय लमहीले १ स्वर्ण, १ रजत र २ कास्य पदक जित्दै नगर पाँचौँ स्थानमा रहेको छ । पुस महिनामा सञ्चालन भएको प्रतियोगितामा लमही नगरपालिकाभित्रका २८ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ ।

समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले खेलकुदमार्फत राष्ट्रलाई चिनाउन सकिने उल्लेख गर्दै अनुशासन, मेहनत र लगनशीलताका साथ खेल प्रदर्शन गर्न खेलाडीहरूलाई आग्रह गरे । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले मर्यादित र अनुशासित रूपमा प्रतियोगिता सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै खेलकुदले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उपप्रमुख लक्ष्मी योगीले खेलकुद शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अनिवार्य रहेको बताइन् ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले खेलकुदले सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । लमही नगरपालिका (६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले खेलाडीहरू अनुशासन, मेहनत र समर्पणका माध्यमबाट समाजका लागि प्रेरणाको स्रोत बन्ने भन्दै खेलाडीहरू देशका अमूल्य गहना भएको धारणा व्यक्त गरे । कार्यक्रममा सहजीकरण लमही नगरपालिका विपद् शाखा प्रमुख गायत्री थापाले गरेकी थिइन्