Ad Area

पवित्रादेवी स्मृति क्रिकेट : त्रिशिद्धेश्वरी स्पोट्र्स क्लब र घोराही क्रिकेट एकेडेमी विजयी


हिमाल महरा
दाङ,१४ पुस । पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगितामा त्रिशिद्धेश्वरी स्पोट्र्स क्लब र घोराही क्रिकेट एकेडेमी विजयी भएका छन् ।

दाङ युवा क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा आइतबारदेखि सञ्चालन भएको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमवार भएका खेलमा त्रिशिद्धेश्वरी स्पोट्र्स क्लब र घोराही क्रिकेट एकेडेमी बिजयी भएका हुन । घोराही–१७ गुलरियास्थी घोराही क्रिकेट रंगशालामा भएको पहिलो खेलमा द एजाइन क्रिकेट क्लबलाई हराउँदै श्री त्रिशिद्धेश्वरी स्पोट्र्स क्लब बिजयी भएको थियो । टस जितेर श्री त्रिशिद्धेश्वरीले फिल्डिङ रोजेपछि द एजाइन क्रिकेट क्लबले ब्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ८५ रन बनायो ।

द एजाइनका लागि विक्रम रोकाले २४ रन र अमृत घर्तिले १९ रनको योगदान दिए । श्री त्रिशिद्धेश्वरीका बलर शंकर पाण्डेले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने सुजन गौतमले १ विकेट हात पारेका थिए । ८६ रनको लक्ष्य पछ्याएको त्रिशिद्धेश्वरी स्पोट्र्स क्लबले ८.३ ओभरमै ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । त्रिशिद्धेश्वरीका लागि आशिष लोहार नटआउट रहँदै २३ बलमा ४ चौका र २ छक्का सहित ३५ रन बनाए । सुजन गौतमले १२ बलमा ४ चौकाको सहयोगमा २४ रन जोडे। द एजाइनका बलर गणेश धिताले ह्याट्रिकसहित ४ विकेट लिए पनि अन्य बलरबाट अपेक्षित साथ नपाउँदा टोली पराजित हुन पुगेको थियो ।

दोस्रो खेलमा घोराही क्रिकेट एकेडेमीले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । टोलीका लागि क्षितिज थापा मगरले ५३ बलमा ७ चौका र ३ छक्का सहित ६९ रन तथा शिशिर डिसीले ३४ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए । भ्याली जुनियर क्रिकेट क्लबका बलर कर्णवीर सार्की र योगेश्वर कुँवरले समान ३–३ विकेट लिए । १६४ रनको लक्ष्य पछ्याएको भ्याली जुनियर क्रिकेट क्लबले २० ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमा समेटिएको थियो ।

भ्याली जुनियरका लागि निर्मल गुरुङले ४६ रन र सलाहुद्दीन खानले २२ रन बनाए। घोराही क्रिकेट एकेडेमीका बलर किशन भारतीले ३ विकेट तथा करण जिएमले २ विकेट लिएका थिए । प्रतियोगिताअन्तर्गत मंगलबार तेस्रो दिन घोराही टाइगर्स र देउखुरी वारियर्स तथा पुरन्धरा क्रिकेट क्लब र भ्याली जुनियर क्रिकेट क्लबबीच खेल हुने क्लबका कोषाध्यक्ष सुजित  शर्माले जानकारी दिएका छन्।