एलिना र रचनाले तताए घोराही महोत्सव, बुधवार शान्तिश्री आउँदै
घोराही, २९ पुस । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को पाँचौँ दिन चर्चित गायिका एलिना चौहान र रचना रिमालले दमदार प्रस्तुति दिँदै महोत्सवस्थललाई गुञ्जायमान बनाएका छन् । उनीहरूको ऊर्जाशील प्रस्तुति र लोकप्रिय गीतले दङाली दर्शकलाई झुमाएको थियो ।
सबैको रोजाइमा परेकी गायिका एलिना चौहानले ‘धोकेवाज हौ तिमी’, ‘चिसो पानी’, ‘कट्टा हान्दिन्छु’, ‘कता हिँडेको’,‘छुट्यो प्रेम’, ‘मेरो दुश्मन’लगायतका चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई नचाइन् । एलिनाको ऊर्जाशील प्रस्तुति र दर्शकसँगको आत्मीय संवादले महोत्सवको माहोल थप उत्साहपूर्ण बनेको थियो ।त्यसैगरी गायिका रचना रिमालको प्रस्तुति सुरु भएसँगै दर्शक नाच्न थालेका थिए । साँझ परिसकेको पत्तै नपाई दर्शकहरू उनको गीतमा रमाएका थिए । उनले टन्न पैँसा, फिटो फिरिमा, सुन न प्यारी, सुटुक्क–सुटुक्क, मिनरल वाटर, पानी छम्किने जस्ता हिट गीतमार्फत् दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् ।
कार्यक्रममा गायक सन्दीप सेन्चुरीले सुन्तली बबई तरेर, स्याउली बजार र दर्याम–दर्याम गीत प्रस्तुत गर्दै दर्शकको मन जिते । गायिका विष्णु सुनारले भैंसी गोठैमा र दाङमा घोराही छ गीत प्रस्तुत गरिन् । डान्सर खिमा बुढा मगरको आकर्षक नृत्यले दर्शकलाई हुरुक्क बनायो भने सोनी ग्रुपको नृत्य प्रस्तुतिलाई पनि दर्शकले निकै रुचाएका थिए ।दोहोरी प्रतियोगितातर्फ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङ ‘ए’ र दोहोरी समूह हापुरेबीच भएको प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल विजयी भएको छ । कार्यक्रमको उद्घोषण गायक माधव जोन खत्री र गायिका तथा उद्घोषक रुपा घर्तीले संयुक्त रूपमा गरेका थिए ।
महोत्सवका सांस्कृतिक संयोजक गोपाल बुढामगरका अनुसार महोत्सवको छैटौँ दिन बुधवार चर्चित गायिका शान्ति श्री परियार र गायक हेमन्त शर्मालगायतका कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ ।
