घोराहीमा पाँच हजार बढी भूकम्प प्रतिरोधी घर
दाङ, ३ माघ । घोराहीमा करिब १३ वर्षको अवधिमा साढे पाँच हजार भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् । नागरिकमा सचेतना बढ्दै जाँदा घोराहीमा भूकम्प प्रतिरोधक घर निर्माण हुने क्रम बढ्दै गएका छन् ।
घोराही उपमहानगरपालिकाका सवइन्जिनियर मधुसूदन खतिवडाका अनुसार घोराहीमा आर्थिक वर्ष २०६९÷०७० बाट भूकम्प प्रतिरोधी घर निर्माण गर्न थालिए पनि २०७२ सालको भूकम्पपश्चात् बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड लागु गरिएपछि भूकम्प प्रतिरोधी घर निर्माणको क्रम बढ्दै आएको छ । त्यो भन्दा अगाडि थोरै मात्र भूकम्प प्रतिरोधी घर थिए भने नागरिकले आफ्नै तरिकाले घर निर्माण गर्ने गर्दै आएका थिए ।
उपमहानगरपालिकाको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०६९÷०७० मा १५ वटा भूकम्प प्रतिरोधी घर बनेका थिए । त्यसपछि भने क्रमशः भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने क्रम बढ्दै गएको देखिन्छ । सवइन्जिनियर खतिवडाका अनुसार आर्थिक वर्ष ०७०÷०७१ मा एक सय १५ वटा, आव ०७१÷०७२ मा एक सय १६ वटा, आव ०७२÷०७३ मा दुई सय ९३ वटा, आव ०७३÷०७४ मा तीन सय ५५ वटा घर निर्माण भएका छन् ।
यसैगरी आव ०७४÷०७५ मा छ सय ७१ वटा, ०७५÷०७६ मा चार सय १७ वटा, ०७६÷०७७ मा दुई सय ५६ वटा, ०७७÷०७८ मा दुई सय एक वटा, ०७८÷०७९ चार सय ५७, ०७९÷०८० मा छ सय ४३ वटा, ०८०÷०८१ म छ सय १४ वटा, ०८१÷०८२ मा आठ सय ६५ र चालु आर्थिक वर्षको पुस मसान्तसम्म पाँच सय ४२ घर गरेर घोराहीमा पाँच हजार पाँच सय २५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् ।
सवइन्जिनियर खतिवडाका अनुसार २०८० माघ २३ गतेदेखि विद्युतीय माध्यमबाट अनलाइन नक्सापास गर्न सुरु गरेपछि घोराहीमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने कार्य बढेको थियो । गाउँघरमा कच्ची घरसमेत विशेष प्रविधि अपनाएर भूकम्प प्रतिरोधी घर निर्माण गर्न थालिएको बताउँछन् । उनका अनुसार सहरी क्षेत्र घोराही १४, १५, १८, १७, १० वडामा बढी भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् भने ग्रामीण तथा दुर्गम क्षेत्रमा भने आफूखुसी नागरिकले अहिले पनि घर निर्माण गर्ने गरेका छन् ।
