घोराहीमा आठौँ मेयर कप फुटबल प्रतियोगिता सुरु
दाङ, ५ माघ । घोराहीमा आठौँ मेयर रनिङ कप फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा आठौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता सुरु भएको हो ।
घोराही उपमहानगरपालिका–१८ नवलपुर खेल मैदानमा सुरु भएको आठौँ मेयर रनिङ कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख नरुलाल चौधरीले नयाँ खेलाडी उत्पादनसँगै खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमका प्रमुख अतिथि रहेका नगर प्रमुख चौधरीले युवालाई खेलकुदमा जोड्दै उनीहरूको खेल क्षमताको विकाससँगै प्रतिभावान खेलाडी उत्पादनका लागि घोराहीमा हरेक वर्ष मेयर कप प्रतियोगिता गर्न थालिएको बताए ।
प्रतियोगिताले घोराहीमा खेलाडीको क्षमता विकाससँगै खेल पूर्वाधार सुधारमा सहयोग गरेको भन्दै सोही अनुरुप घोराहीका हरेक वडामा केही न केही भए पनि खेल पूर्वाधार विकास गरिएको त्यसलाई आगामी दिनमा सुधार गर्दै लगिने बताए । उनले खेल क्षेत्रबाट नाम, दाम सम्मान कमाउन सक्ने गरी अनुशासित रूपमा खेल क्षेत्रमा लाग्न नयाँ पुस्तालाई आग्रह समेत गरेका थिए । नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले दक्ष खेलाडी उत्पादनका लागि प्रतिस्पर्धा आवश्यक हुने हुँदा उपमहानगरले धेरै ठाउँमा खेलकुद मैदान बनाएर युवालाई खेलमा आकर्षण गर्ने काम गरिएको बताए ।
वडा नं. ३ र ८ को विजयी सुरुवात
यसैबिच आठौँ मेयर रनिङ कप फुटबल प्रतियोगितामा घोराही वडा नं. ३ र ८ ले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १४ लाई ४–३ गोलले पराजित गर्दै वडा नं. ३ विजयी भएको हो । त्यसैगरी दोस्रो खेलमा वडा नं. ८ ले वडा नं. ४ लाई ४–२ गोल अन्तरले पराजित गरेको हो । लिगकप नकआउट स्टिमका आधारमा सञ्चालन भएका प्रतियोगिताका खेलमा घोराहीका वडा नं. १ देखि १९ वडासम्मका टिमको सहभागीता रहेको नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनले जानकारी दिएका छन् ।
