Ad Area

पाँचौँ अल्फा तेक्वान्दो च्याम्पियनसिप हुने


घोराही,९ माघ । घोराहीमा ‘पाँचौ अल्फा तेक्वान्दो च्याम्पियनसिप–२०८२’ हुने भएको छ । घोराही उपमहानगरपालिका–१५ नवज्योति टोलमा रहेको अल्फा तेक्वान्दो डोजाङले माघ २३ र २४ गते पाँचौँ संस्करणको जिल्लास्तरीय अल्फा तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्न थालेको हो ।

आयोजक अल्फा तेक्वान्दो डोजाङले बिहिबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर च्याम्पियनसिपबारे जानकारी गराएको हो । घोराही उपमहानगरपालिका–१५ स्थित दरबार स्केटपार्कमा हुने च्याम्पियनसिपमा जिल्लाका विभिन्न डोजाङका चार सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक तथा अल्फा तेक्वान्दो डोजाङ प्रमुख प्रशिक्षक सुनिता विष्टले बताइन् ।

च्याम्पियनसिपमा फाइट, व्यक्तिगत पुम्से, जोडी पुम्से तथा मिक्स ग्रुप पुम्सेमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा फाइटतर्फ महिला खेलाडीले २४ केजी, २८ केजी, ३२ केजी, ३६ केजी, ४० केजी, ४४ केजी, ४८ केजी, ५२ केजी, ५६ केजी र ५९ केजी मुनि र पुरुष खेलाडीले २५ केजी, २९ केजी, ३३ केजी, ३७ केजी, ४१ केजी, ४५ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी र ६१ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी व्यक्तिगत पुम्सेतर्फ महिला तथा पुरुष खेलाडीले १० वर्ष मुनि, १४ वर्ष मुनि, १७ वर्ष मुनि तथा १७ वर्ष माथिका उमेर समूहमा सहभागी हुन पाउनेछन् । जोडी पुम्सेतर्फ १० वर्ष मुनि, १४ वर्ष मुनि, १७ वर्ष मुनि तथा १७ वर्ष माथि र मिक्स ग्रुप पुम्सेतर्फ १० वर्ष उमेरमाथि समूहमा प्रतिस्पर्धा गर्न पाउने आयोजक अल्फा तेक्वान्दो डोजाङ प्रमुख विष्टले बताइन् ।

च्याम्पियनसिपको विजेता टिमले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना पुरुष र एक जना महिला खेलाडीलाई व्यक्तिगत विधातर्फ नगद ३५÷३५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजक अल्फा तेक्वान्दो डोजाङले जनाएको छ ।

प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउन सेन्सर सिस्टमको व्यवस्था गरिने भएको छ । प्रतियोगितामा सहभागिताका लागि प्रतिखेलाडी पाँच सय रुपैयाँ दर्ताशुल्कको व्यवस्था गरिएको छ । अल्फा तेक्वान्दो डोजाङका अध्यक्ष पदम केसीको अध्यक्षतामा भएको भार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले शिक्षासँगै हरेक विद्यार्थीलाई उसको चाहना अनुसार खेल सिक्ने वातावरण बनाउन सके खेलकुदका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन सकिने बताए । कार्यक्रमको सहजीकरण डोजाङका प्रशिक्षक दामु शर्माले गरेका थिए ।