Ad Area

प्रथम खुला गोरक्ष रनिङ शिल्ड आईटिएफ तेक्वान्दो सुरु


दाङ, १७ माघ । घोराही उपमहानगरपालिका–१७ चौघेरामा प्रथम खुला गोरक्ष रनिङ शिल्ड आईटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०८२ सुरु भएको छ । गोरक्ष आईटिएफ तेक्वान्दो एकेडेमीको आयोजनामा शनिवारदेखि चौंघेरामा रहेको गोरक्ष माध्यमिक विद्यालयमा च्याम्पियनसिप सुरु भएको हो ।

गोरक्ष आईटिएफ तेक्वान्दो एकेडेमीका प्रमुख एवं प्रतियोगिता संयोजक अर्जुन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा च्याम्पियनसिपको विद्यालय व्यवस्थापन समितिका संयोजक निर्मल आचार्यले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आचार्यले खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग गर्ने बताएका थिए । विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले खेलकुद प्रतियोगिता खेलाडीको क्षमता विकाससँगै नयाँ खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए ।

आईटिएफ तेक्वान्दोको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको च्याम्पियनसिपमा छात्रले –२० देखि ६५ किलो तौल समुह र छात्राले–२० देखि ६० किलो तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभिन्न डोजाङका दुई सय बढी खेलाडीको सहभागीता रहेको छ । त्यसैगरि प्याटनतर्फ महिला र पुरुष खेलाडीले हरियो, निलो र पहेलो गरि तीन समुहले प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमलाई रनिङ शिल्डसहित विभिन्न पुरस्कार प्रदान गरिनेछ ।

दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीम थापाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण विद्यार्थी सम्झना पाण्डेयले गरेकी थिइन । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता आइतवारसम्म चल्नेछ ।