Ad Area

संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास : मुख्यमन्त्री आचार्य


दाङ,२१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर दिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पार्नुभएको हो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन र नीतिगत व्यवस्था निर्माण गरिएको जानकारी दिनुभएको छ । ती कानुनी तथा नीतिगत संरचनाले प्रदेश सरकारको कार्यान्वयन क्षमता बलियो बनेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार संघीयताको औचित्य व्यवहारमा देखिने गरी नीतिगत सुधार, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र कृषि लगायत सामाजिक तथा आर्थिक क्षेत्रको सन्तुलित विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको छ ।

मुख्यमन्त्री आचार्यले संविधानको पूर्ण पालना र संरक्षणका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश सरकारले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । संघीय संरचनाको सम्मान, अधिकारको व्यवहारिक कार्यान्वयन र स्रोतसाधनको सुनिश्चितताका लागि लुम्बिनी प्रदेश सधैं स्पष्ट र दृढ रहेको उहाँको भनाइ छ । प्रदेश सरकार स्थापना भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारको अन्त्यलाई कार्यसम्पादनको मूल आधार बनाइएको मुख्यमन्त्रीको भनाइ छ । सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रियामा पारदर्शिता र सार्वजनिक उत्तरदायित्व बलियो बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।

चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्च बढाउने नीतिलाई कडाइका साथ कार्यान्वयन गरी विकास आयोजना अघि बढाइएको पनि सन्देशमा उल्लेख छ । मुख्यमन्त्री आचार्यले राजनीतिक रूपमा प्राप्त संघीयतालाई प्रशासनिक र वित्तीय संघीयताका रूपमा पनि संस्थागत गर्न अपरिहार्य भइसकेको उल्लेख गर्नुभयो । संघीयताको सवलिकरण र औचित्य व्यवहारमा उतार्दै प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार अझ दृढताका साथ अघि बढ्ने उहाँको प्रतिबद्धता छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी तथा नागरिकको सहकार्य र सकारात्मक भूमिकाको अपेक्षा गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी प्रदेश निर्माणका लागि साझा प्रयास अपरिहार्य रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार प्रदेशभर सार्वजनकि विदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले संयुक्तरुपमा मुल समारोहको आयोजना गर्दैछन् ।