स्थानीय विकास प्राथमिकता : उम्मेदवार घिमिरे
दाङ,७ फागुन । नेपाली कांग्रेसका दाङ क्षेत्र नं.–२ का उम्मेदवार किरणकिशोर घिमिरेले जनताका अत्यावश्यक आवश्यकताका रुपमा रहेका स्थानीय विकासका एजेण्डा आफ्नो प्राथमिकतामा रहने बताएका छन् ।
चुनावी अभियानका क्रममा विहीवार मतदातासँग भेटघाटका क्रममा उम्मेदवार घिमिरेले ठुला विकास निर्माणका योजनाका आश्वासन बाड्नेभन्द जनतालाई अत्यवाश्यक पर्ने योजनालाई प्राथमिकतामा राख्ने बताएका हुन । त्यसगरी उनले राष्ट्रिय राजनीतिक अस्थिरताले स्थानीय तहको विकासमा प्रत्यक्ष असर पारेको भन्दै भने,‘देशमा राजनीतिक स्थायित्व र स्पष्ट नीति नभएसम्म स्थानीय तहसम्म बजेट र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्दैन । त्यसको असर कृषि, पर्यटन र साना उद्योगका क्षेत्रमा पर्ने गरेको छ । यसलाई हटाउने गरि काम गर्नेछु ।’
उनले संघीय संरचनालाई थप मजबुत बनाउँदै केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। दाङलाई पश्चिम नेपालको आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै उनले सडक, सिँचाइ, स्वास्थ्य र शिक्षामा दीर्घकालीन योजना आवश्यक रहेको बताए ।उम्मेदवार घिमिरेले विहीवार घोराही–१३,१६ र १८ का विभिन्न टोलमा घरदैलो तथा भेटघाट गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य भूपबहादुर डाँगी, कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, कांग्रेस क्षत्र नं. २ का सभापति भीमप्रकाश खड्का, प्रदेशसभा क्षेत्र नं. २ का सभापति प्रकाश श्रेष्ठ, घोराही नगर उपसभापति दुर्लभ केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष वसन्त जोशीलगायत नेता–कार्यकर्ताको सहभागीता रहेको थियो।
