खेलकुद सरोकार समितिको संयोजकमा गुरुङ चयन
लक्ष्मण बस्नेत
तुलसीपुर,९फागुन । तुलसीपुर नगरस्तरीय खेलकुद सरोकार समितिको संयोजकमा सुधिर गुरुङ चयन भएका छन्।
तुलसीपुर नगर क्षेत्रमा क्रियाशील विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेल प्रशिक्षक, पूर्व खेलाडी, स्वयंसेवक प्रशिक्षक, खेलप्रेमी तथा शुभचिन्तकहरूको सहभागितामा आज तुलसिपुरमा सम्पन्न आम भेलाले गुरुङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो।
समितिको सचिवमा लक्ष्मण बस्नेत चयन भएका छन् भने सदस्यहरूमा लालबहादुर केसी, आशिषकुमार श्रेष्ठ, वसन्त गिरी, प्रीतिबहादुर गिरी, डम्बर भण्डारी, खिम घर्तिमगर, उषा कवर, रुपेश शर्मा र सुरेन्द्रसिंह राठौर रहेका छन्। समितिको सल्लाहकारमा टेकबहादुर बिक, मानबहादुर गोल्डस्मिथ र पद्मा चौधरी चयन भएका छन्। कानुनी सल्लाहकारमा रामशरण चौधरी तथा प्रेस सल्लाहकारमा नारायण खड्का चयन भएका छन्।
फुटबलका पूर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा वक्ताहरूले दशकौँ पुरानो खेलकुद इतिहास बोकेको तुलसिपुर नगरको खेलकुद क्षेत्र अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको धारणा व्यक्त गरेका थिए। उनीहरूले खेलकुद परम्परागत र औपचारिकतामै सीमित हुनु, खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो नहुनु तथा स्थानीय सरकार र खेलकुदसँग सम्बन्धित सरोकारवाला निकायको अपेक्षित चासो र चिन्तन नदेखिनुले समग्र खेलकुद पछाडि परेको बताएका थिए।
भेलामा तुलसिपुर नगर क्षेत्रमा क्रियाशील विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, पूर्व खेलाडी, स्वयंसेवक प्रशिक्षक, खेलप्रेमी तथा शुभचिन्तक गरी ५१ जनाको सहभागिता रहेको थियो।
