Ad Area

दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : महासचिव पोखरेल


एमालेको घोराहीमा ‘रोड सो’
दाङ,१७ फागुन । नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले साझा जनप्रतिनिधिका रुपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।

नेकपा एमाले दाङ क्षेत्र नं. २ ले घोराहीमा आयोजना गरेको ‘रोड सो’लाई सम्वोधन गर्दै महासचिव पोखरेलले दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका हुन । दाङको समृद्धिका लागि संकल्पपत्र तयार परेर आफू निर्वाचनमा होमिएको भन्दै पोख्रेलले पाँच वर्षभित्र गर्ने कामको फेहरिस्त तयार पारेर अगाडि बढेको हुँदा निर्वाचनमा मतदान गरी विजयी बनाउन आग्रह गरेका हुन ।

आफू राजनीतिक रूपमा स्थापित भइसकेको उल्लेख गर्दै पोखरेलले अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता रहेको बताए ।दाङ अहिले ऐतिहासिक ‘टर्निङ पोइन्ट’ मा उभिएको भन्दै पोखरेलले अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पुनः पछाडि फर्कने बीचको महत्वपूर्ण छनोट भएको बताए । पोखरेलले आफूले अघिल्लो कार्यकालमा अघि सारेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै बाँकी अधुरा योजनाहरू सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरेका हुन । उनले दाङलाई लुम्बिनी प्रदेश को राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरेको बताए थिए ।

संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको उल्लेख गर्दै पोखरेलले भने,‘प्रदेश राजधानीको गुरुयोजना निर्माण, प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएका कारण अहिले देउखुरीमा विकास हुँदै गएको छ ।’ दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता दोहो¥याएका थिए । पोखरेलले ृकषि तथा सामाजिक पूर्वाधार क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत् उत्पादन वृद्धि र किसानको आयवृद्धिमा उपलब्धि हासिल भएकोे जानकारी दिएका थिए ।

पर्यटन तथा धार्मिक क्षेत्रको विकासतर्फ अम्बिकेश्वरी मन्दिर, छिल्लिकोट र धारपानीलगायत स्थानमा पूर्वाधार विस्तार गरिएको बताए । भूमिहीनलाई लालपुर्जा वितरणका लागि आयोग गठन गरी काम सुरु गरिएको उनको भनाई थियो । घोराहीको लखन पार्कबाट सुरु ‘रोड सो’ मा हजारौं समर्थकको सहभागीता रहेको थियो । दाङ क्षेत्र नम्बर २ का गाउँगाउँबाट आएका एमाले समर्थकले घोराही बजार भरिभराउ भएको थियो । ‘नेकपा (एमाले) जिन्दावाद, दाङले के भन्छ ? शंकर पोखरेल ले भन्छ’ जस्ता नारा लगाउँदै समर्थकहरुले घोराहीमा ¥याली गरेका थिए ।