प्रतिनिधि सभा निर्वाचन : मतदान केन्द्र पुगे कर्मचारी
लिलाधर वली
दाङ, १९ फागुन । प्रतिनिधि सभा निर्वाचनका लागि मतदानस्थलमा कर्मचारी पुगेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेका हुन् ।
निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र लगायतका आवश्यक निर्वाचन सामग्रीसहित सोमवार कर्मचारी मतदानस्थलमा पुगेको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी जानकारी दिएका छन् । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र प्र्रदेश निर्वाचन कार्यालयबाट मतपेटिका, मतपत्रलगायतका सामग्री लिएर निर्वाचन गराउन सुरक्षाकर्मी र कर्मचारी आआफ्नो मतदान केन्द्रमा पुगेका हुन् ।
मतदान केन्द्रमा पुगेर कर्मचारीले मतदानस्थल सरसफाइसँगै राजनीतिक दलसँग समन्वय बैठक गरेर मतदान केन्द्र निर्माणलगायतका काम गर्ने बताए । ‘फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न तोकिएको मतदानस्थल र केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्’, मुख्य निर्वाचन अधिकृत पण्डितले भने, ‘आजदेखि नै कर्मचारी र सुरक्षाकर्मीले मतदानस्थललाई शिल गरेर स्थानीयसँग समन्वयमा सरसफाइ तथा मतदानका लागि बुथ निर्माणको काम गर्नेछन् ।’
निर्वाचनका लागि जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका चार सय ८२ वटा मतदान केन्द्रमा दुई हजार आठ सय ९२ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा छ जना गरेर दुई हजार आठ सय ९८ जना कर्मचारी खटेका छन् । यसैगरी निर्वाचन सुरक्षाका लागि जिल्लामा पाँच हजार पाँच सय ११ जना सुरक्षाकर्मी खटिएका छन् ।
जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना रहेका छन् । दाङमा एक सय ५९ मतदानस्थल अन्तर्गत चार सय ८२ वटा मतदान केन्द्र रहेका छन् । जसमा १६ वटा अतिसंवेदनशील, एक सय ३४ वटा संवेदनशील र नौ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको छ ।
