प्रथम शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार बिमला योगीलाई
दाङ, २५ फागुन । त्रिभुवनगर जेसीजमा स्थापना गरिएको शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार यस वर्ष बिमला योगीलाई प्रदान गरिएको छ । जेसीजमा स्थापना गरिएको पुरस्कार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आइतवार प्रथम पटक योगीलाई प्रदान गरिएको हो ।
उनलाई नगद, प्रमाण र मेडलसहितको पुरस्कार प्रदान गरिएको हो । समाज परिवर्तन तथा समाजमा महिला आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै योगीलाई सम्मान गरिएको जेसीजले जानकारी दिएको छ । योगीले लामो समयदेखि महिला अधिकार तथा महिला सशक्तीकरणमार्फत् आर्थिक रुपान्तरणमा काम गर्दै आएकी छिन् ।
यसैगरी उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेलेकी छिन् । शिक्षाबाट वञ्जित बालबालिकालाई शिक्षाको पहुँच पु¥याउन महत्वपूर्ण भूमिका खेलेकी छिन् । जेसीजमा पाँच लाख रुपैयाँको स्थापना गरिएको अक्षयकोषबाट योगीलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल जेसीजका अध्यक्ष जीवन कार्कीले समाज परिवर्तनका लागि एकताबद्ध हुनु पर्ने बताए ।
‘समाज परिवर्तनका लागि सकारात्मक सोचका साथ एकताबद्ध भएर काम गर्नु आवश्यक छ’, अध्यक्ष कार्कीले भने । महिलाहरूले त्याग र समर्पणमा महत्वपूर्ण योग्दान गरेको समेत उनले बताए । नेपाल जेसीजका उपाध्यक्ष सन्दीप भुसालले महिला र पुरुषको अधिकार बराबर भएको बताउँदै अवसर पनि बराबर पाउनु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले समाज परिवर्तनमा सबै आआफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए । सबैको सहयोगले मात्र समाज परिवर्तन गर्न सकिने उनको भनाइ छ । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले महिला र पुरुषबिच कानुनी रूपमा विभेद नभए पनि व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वन हुन नसकेको बताए । यसलाई व्यावहारिक रूपमा कार्यान्वन गर्न सबैको भूमिका महत्वपूण हुन आवश्यक रहेको बताए ।
महिला पत्रकार मञ्चका अध्यक्ष लक्ष्मी आचार्यले कानुनमा भएका व्यवस्था कार्यान्वनमा समस्या रहेको बताउँदै अहिले पनि श्रम गर्ने महिलाले समान कामको समान ज्याला पाउन नसकेको उनले बताइन् ।
कार्यक्रममा सम्मानित योगीले यो पुरस्कारले सामाजिक काम गर्न ऊर्जा थपेको बताइन् । आफू निरन्तर समाजिक काममा लागिरहने बताउँदै योगीले महिलालाई अवसर दिए जस्तोसुकै काम गर्न सक्ने बताइन् । घरपरिवारदेखि देश परिवर्तनमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उनले बताइन् । कार्यक्रममा दाङ महिला जेसीजका अध्यक्ष अर्चना शर्मा, सिसा संस्थाका अध्यक्ष साजिदा सिद्दिकी, पुरस्कार छनोट समितिका सदस्य प्रतीक लोहोनीलगायतले भनाइ राखेका थिए ।
पुरस्कृत व्यक्तिको बारेमा पुरस्कार छनोट समितिका अध्यक्ष कुमारराज श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रममा जेसीज आस्थापाठ हरि भट्टराईले गराएका थिए । कार्यक्रम जेसीजका अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम संयोजक श्यामकुमार गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जेसीजका महासचिव बाबुराम पाण्डेले गरेका थिए ।
