Ad Area

दाङका तीन क्षेत्रमा ५१ उम्मेदवारको जमानत जफत


लीलाधर वली
दाङ, २४ फागुन । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका ६० जनामध्ये दाङमा ५१ जनाको जमानत जफत भएको छ । जसमा प्रमुख राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवार रहेका छन् । जमानत जफत हुनेमा दाङ निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना, क्षेत्र नं. २ मा २० जना र क्षेत्र नं. ३ मा १९ जना उम्मेदवार रहेका छन् ।

निर्वाचनमा उम्मेदवार बनेर सदर मतको कम्तीमा १० प्रतिशत जनमत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ । जस अनुसार दाङ क्षेत्र नं. १ मा विजयी रास्वपाका देवराज पाठकसहित नेपाली कांग्रेसका योगेन्द्र चौधरी, क्षेत्र नं. २ मा विजयी रास्वपाका विपिनकुमार आचार्य, नेकपा एमालेका शंकर पोख्रेल र नेपाली कांग्रेसका किरणकिशोर घिमिरे र क्षेत्र नं. ३ मा विजयी रास्वपाका कमल सुवेदीसहित कांग्रेसका दीपक गिरी, एमालेका घनश्याम पाण्डेय र नेकपाका धनबहादुर मास्कीले मात्र जमानत बचाएका छन् । अन्य उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्र नं. १ मा जमानत बचाउन उम्मेदवारले गणना भएको ८० हजार चार सय ४६ मतमध्ये सदर मत ७६ हजार तीन सय ८९ को १० प्रतिशत अर्थात् सात हजार छ सय ३९ मत ल्याउनु पर्ने भए पनि त्यो भन्दा कम मत प्राप्त गर्नेको जमानत जफत भएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा चार हजार ५७ मत बदर हुँदा नेपाली कांग्रेसका उम्मेदवार चौधरीले १५ हजार दुई सय ८० मत प्राप्त गर्दै जमानत बचाए पनि अन्य उम्मेदवारले सकेनन् । जमानत जफत हुनेमा एमालेका उम्मेदवार रेवतीरमण शर्मा घिमिरे (६,८२५), नेकपाका उम्मेदवार एवम् पूर्वमन्त्री मेटमणि चौधरी (४,९६५), नेकपा (माओवादी) का प्रकाश शाही (१,४७२), स्वतन्त्र उम्मेदवार एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (१,३८४), राप्रपाका विनय बिसी (१,२९२), राष्ट्रिय जनमोर्चाका गणेश आचार्य (१,०७७), स्वतन्त्र उम्मेदवार मनिकराम यादव (१००८), नेशनल रिपब्लिक नेपालका मिनबहादुर ठेडी मगर (१९३), मङ्गोल नेसनल अर्गनाइजेसनका खुमबहादुर गाहा मगर (१४१), जनता समाजवादी नेपालका भरतलाल चौधरी (८१), आम जनता पार्टीका सिताराम यादव (४७) र राष्ट्रिय परिवर्तन पार्टीका रन्जित चौधरी (२१) रहेका छन् ।

यसैगरी क्षेत्र दाङ क्षेत्र नं. २ मा गणना भएको ८२ हजार तीन सय पाँच मतमध्ये सदर मत ७९ हजार चार सय ४० को १० प्रतिशत सात हजार नौ सय ४४ मत उम्मेदवारले प्राप्त गर्नु पर्ने भए पनि त्यो भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको छ । क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार एवम् महासचिव शंकर पोख्रेलले १५ हजार दुई सय ८७ र नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार पाँच सय ५८ मत प्राप्त गर्दै जमानत बचाएका छन् भने अन्य पराजित उम्मेदवारको जमानत जफत भएको छ ।

जमानत जफत हुनेमा नेकपाका उम्मेदवार निर्मल आचार्य (७,०८३), राप्रपाका ऋषिकेश पोख्रेल (७६०), मङ्गलो नेसनल अर्गनाइजेसनका अम्मरबहादुर बढा (५५७), राष्ट्रिय जनमोर्चाका मनिराम खनाल (२२६), नेसनल रिपब्लिक नेपालका जितन पुन (९२), प्रलोपाका प्रतीक अधिकारी (७४), राष्ट्रिय जनमुक्ति पार्टीका रविन्द्र उच्च नेपाली (४१), जनता समाजवादी पार्टीका ढुण्डिराज थापा (३१), नागरिक उन्मुक्ति पार्टीका झरेन्द्रबहादुर खत्री (२८), नेपाल मजदुर किसान पार्टीका नवीनकुमार शाही (२१), मितेरी पार्टी नेपालका रेखबहादुर पुन (९), आम जनता पार्टीका कृष्णबहादुर सनार (७), स्वतन्त्र उम्मेदवारहरू पद्मप्रसाद पाण्डे (३२), धर्मराज शर्मा (३१), विष्णुकुमारी भुसाल (११), बालाराम पौडेल र कल्पना लामा (९÷९), लालबहादुर खत्री (७), समीर वली र विष्णुविक्रम सेन वलीले समान (४÷४) मत प्राप्त गरेका हुन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्र नं. २ मा दुई हजार आठ सय ६५ मत बदर भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्र नं. ३ मा १९ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत बचतका लागि गणना भएको ८८ हजार छ सय १७ मतमध्ये सदर मत ८४ हजार आठ सय ४१ को १० प्रतिशत आठ हजार चार सय ८५ मत प्राप्त गर्नु पर्ने भए पनि त्यो भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो ।

क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले १६ हजार चार सय ५३, नेकपा एमालेका घनश्याम पाण्डेयले १२ हजार एक सय ९५ मत र नेकपाका धनबहादुर मास्कीले नौ हजार तीन सय २८ मत प्राप्त गरेर जमानत बचाए पनि अन्य उम्मेदवारको धरौटी जफत भएको छ ।

धरौटी जफत हुने उम्मेदवारमा राप्रपाका दामोदर भण्डारी (१,०५६), नेकपा (माओवादी) का बलबहादुर वली (४२५), राष्ट्रिय जनमोर्चाकी कमला जिसी (१८०), श्रम संस्कृति पार्टीका टोपबहादुर महतरा (२२७), नेसनल रिपब्लिक नेपालका प्रितम चौधरी (१८१), मङ्गोल नेसलन अर्गनाइजेसनका घनश्याम चौधरी (१४४), जनता समाजवादी पार्टीकी शोभा डाँगी (२४), आम जनता पार्टीकी पाण्डवी नेपाली (८), नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी (५५), संयुक्त नागरिक पार्टीका दलवीर कामी (९४), मितेरी पार्टीका सन्तोष सिंह (१०), स्वतन्त्र उम्मेदवारहरू यमबहादुर बस्नेत (१५५), भरत परियार (६), सुरेश नेपाली (१), इन्द्रबहादुर बस्नेत (१०), प्रेमबहादुर वली (७), भागीराम चौधरी
(११), सप्रिक कँडेल (१४) र महेश डाँगी (८) मत प्राप्त गरेका छन् ।

क्षेत्र नं. ३ मा तीन हजार सात सय ७६ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनमा उम्मेदवार बनेका करिव ३० जनाले १००मत पनि कटाउन सकेका छैनन् ।